स्वास्थ्य

स्वास्थ्य कार्यालयमा डेङ्गु जाँच गर्ने कीट सकिएपछि यस्तो भयो

हेटौँडा । डेङ्गु सङ्क्रमणको कारण मकवानपुरमा दिनानुदिन बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा स्वास्थ्य कार्यालय मकवानपुरले डेङ्गु जाँच गर्ने ‘कीट’ सकिएको जनाएको छ । सो कार्यालयले एक सूचना सार्वजनिक गर्दै जाँच गर्ने कीट सकिएको जनाएपछि बिरामी निजी अस्पतालतर्फ गएको गुनासो गरेका छन् ।

स्वास्थ्य कार्यालयको भित्तामा ‘यस स्वास्थ्य कार्यालय मकवानपुरको प्रयोगशालामा डेङ्गु परीक्षण कीट सकिएको जानकारी गराउँछौँ’ लेखिएको सूचना टाँसिएको छ । यो सूचनाले सरकारी स्तरबाट सञ्चालन भएका स्वास्थ्य संस्थाहरु नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको जनगुनासो आएको छ ।

सूचनाको विषयमा कार्यालयका प्रमुख शशिकान्त सिंहले आफूहरुले कीट नभएरै सूचना जारी गरेको र कहिले आउँछ भन्ने अझै ठेगान नभएको बताए । उनले आफूहरुले माग गरेकोभन्दा कम कीट आएका कारण समस्या भएको बताए ।

स्वास्थ्य कार्यालयमा रु १५० मा गरिने जाँच निजी अस्पतालहरुमा रु एक हजारभन्दा माथि तिरेर जाँच गर्नु परेको भन्दै सर्वसाधरणले आक्रोश व्यक्त गरेका छन् । ज्वरो आएपछि डेङ्ंगुको शङ्का लागेर स्वास्थ्य कार्यालय मकवानपुरमा जाँच गराउन पुगेकी हेटौँडा–४ की सुनिता पौडेलले निजी अस्पतालमा गएर जाँच गराउनु परेको साथै रिपोर्टमा डेङ्गु देखिएपछि हेटौँडा अस्पतालमा श्यया अभावले निजी अस्पतालमै भर्ना हुनु परेको बताइन् । आफ्नो कमाईअनुसार सरकारी अस्पतालमा उपचार गराउनुपर्नेमा महँगो पैसा खर्च गरेर निजी अस्पतालमा भर्ना हुँदा समस्या परेको उनको भनाइ थियो ।

यस्तैगरी हेटौँडा—४ कै अर्का डेङ्गु सङ्क्रमित सुजता मैनालीले पनि हेटौँडा अस्पतालमा उपचारका लागि स्थान नपाएर सहकारी अस्पताल हेटौँडामा उपचार गर्नुपरेको बताइन् । उनका अनुसार हेटौँडा अस्पतालमा उपचार गर्न पाएको भए खर्चमा कमी हुने थियो ।

यता हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले अस्पतालमा बिरामीको चाप बढेकाले र अस्पतालमा भएको श्ययाभन्दा पनि केही बढी बिरामीलाई उपचार गराइरहेको जानकारी दिए । उनले अस्पतालले धान्नेभन्दा पनि बढी बिरामीको चाप भएपछि उनीहरु निजी अस्पतालतर्फ जान बाध्य भएकामा दुःख व्यक्त गरे ।

डेङ्गु नियन्त्रणमा नगरप्रमुख सक्रिय

हेटौँडामा डेङ्गु नियन्त्रण गर्नका लागि हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबहादुर महतको नेतृत्वमा अभियान नै सञ्चालन गरिएको छ । डेङ्गुको लार्भा र प्यूपा बस्ने बासस्थान नष्ट गर्न आज नगरप्रमुख महतको नेतृत्वमा हेटौँडा–४ का विभिन्न स्थानमा पानी जमेका भाडा खन्याउने, टायर सङ्कलन गर्ने अभियान सञ्चालन गरिएको हो ।

डेङ्गु नियन्त्रण अभियानमा प्रमुख महतसहित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख शतिश बिष्ट, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, नगर प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका, जनपथ प्रहरी लगायतले सहभागिता जनाएका थिए ।

हेटौँडामा डेङ्गु लागेका २५१ जनाभन्दा माथि बिरामी देखा परिसकेका छन् । यसको नियन्त्रणका लागि हेटौँडामा टोल विकास संस्था, वडा कार्यालय, नगर प्रहरी, जनपथ प्रहरी, सशस्त्र प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको दिनहुँ सक्रिय सहभागिता रहेको नगरप्रमुख महतले जानकारी दिए।