समाचार

लागू औषध कोकिन सहित विदेशी नागरिक पक्राउ

काठमाडौँ । कतार एयरवेजको उडानद्धारा दोहाबाट काठमाडौँ आउँदै गरेका आईभेरिकोष्टाका नागरिक मार्केल गुएहिलाई लागू औषधसहित लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । मार्केलको निलो रङ्गको सुटकेश खानतलासी गर्दा १ के.जी. ६०० ग्राम लागू औषध कोकेन फेला परेको हो ।

कोकेनलाई फल्सबटम बनाई माथि प्लाईउड राखी भित्र कागजको पाता बनाई लुकाइएको अवस्थामा फेला परेको लागू औषध नियन्त्रण व्यूरोले जनाएको छ । मार्केल नेपाल हुँदै विभिन्न मुलुकहरुमा लागूऔषध ओसारपसार गर्ने क्रममा पक्राउ परेका हुन् ।

मार्केल नाईजेरियाको लागोस हुँदै कतारका दोहा र दोहा हुँदै काठमाडौँ र यहाँबाट बसद्धारा भारतको नयाँ दिल्ली जाने कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको लागू औषध नियन्त्रण व्यूरोले जनाएको छ । उक्त विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको हुनाले मार्केलमाथि थप अनुसन्धान कार्य भई रहेको लागू औषध नियन्त्रण व्यूरोले जनाएको छ ।