पर्यटन/संस्कृति

सुकेटार विमानस्थलमा उडान अवरुद्धको समस्या निराकरण हुन्छः उड्डयनमन्त्री भट्टराई

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा हुँदै आएको उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने बताएका छन् । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आइपुगेका भट्टराईले बिहीबार बिहान विमानस्थलको अनुगमन गर्दै नियमित उडानका लागि विमानस्थलको सुधार तथा स्तरोन्नति गरिने बताए ।

मौसम खराबी लगायतका कारण नियमित उडान नहुँदा जिल्लावासी तथा पर्यटक सुविधाविहीन भएकाले विमानस्थलको स्तरोन्नतिमा ढिला नहुने उनको भनाइ छ । विमानस्थलको दुवै भागबाट विमान अवतरण गर्न सक्ने गरी स्तरोन्नति गर्ने र मौसम सफा नहुँदासमेत उडान गर्न सकिने गरी उपकरण जडान गर्ने उनको भनाइ छ । तराईका केही विमानस्थलमा यस्ता उपकरण जडानको तयारी भइरहेको र यसलाई अन्य क्षेत्रमा विस्तार गर्दै लगिने उनले बताए ।

मौसम खराबीकै कारण सुकेटार विमानस्थलमा हरेक वर्षको असारदेखि झण्डै असोजसम्म नै उडान अवरुद्ध हुने गरेको छ । नेपाल वायु सेवा निगमले उडान गर्दै आएको यस विमानस्थलमा गएको असारदेखि मौसम खराबीकै कारण उडान अवरुद्ध छ । साताको सोमबार, बुधबार र शनिबार उडान गर्ने नेपाल वायु सेवा निगमको नियमित कार्यतालिका छ । विमानस्थलमा नियमित उडान नहुँदा कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर आउने पर्यटकसमेत मारमा पर्दै आएका छन् ।

यसैबीच मन्त्री भट्टराईले आजै बिहान जिल्ला प्रहरी कार्यालयमा स्थापना गरिएको ‘समुदाय–प्रहरी पुस्तकालय’ लाई सहयोग हस्तान्तरण गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले उपलब्ध गराएको तीन लाखको चेक फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेललाई उनले हस्तान्तरण गरेका हुन्। मन्त्री भट्टराईको पहलमा उक्त रकम कम्पनीका महेश गुरागाईंले पुस्तकालयमा पुस्तक खरीदका लागि सहयोग गरेका हुन् ा