समाचार

प्रधानमन्त्री ओलीले नेपाललाई भने ‘तपाईंको शुभकामना मलाई चाहिएन’

काठमाडौँ । आज बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ । स्वास्थ्य उपचारका लागी सिंगापुर जानु अगाडी बसेकोे बैठकमा प्रधाननन्त्री ओलीले एजेन्डामा प्रवेश गर्न नभ्याउने भएकाले आफूलाई स्वास्थ्य लाभको शुभकामनाका साथ बिदाई गर्न आग्रह गरेका थिए ।

उनले सहमतिका आधारमा निर्णय गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अधिकार दिएको जानकारी गराए र केहि समस्या परेमा उनीसँग फोनमा कुरा गर्न सकिने कुराको जानकारी गराए । ओलीको कुरा टुङ्गिनासाथ नेपालले अब कुनै हालतमा सर्वसम्मती नहुने भन्दै असन्तुष्टता व्यक्त गरे र सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध लेख्ने सांसद राजेन्द्र गौतमलाई कारवाही गर्न माग गरे । अध्यक्ष पुष्पकमल दाहाले नेपाल कठोर रुपमा प्रस्तुत भएपछि उनलाई राक्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरे ।

अध्यक्ष दाहाल बोलेपछि महासचिव विष्णु पौडेलले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै उनलाई बिदा गरौँ भन्दै आजको दिनमा नमिठो कुरा नगर्न नेपाललाई आग्रह गरे । नेपालले फेरी पुनः आक्रोशित हुँदै “वाह कति राम्रो कुरा..” भन्दै असन्तुष्टता व्यक्त गरेपछि ओली र नेपालबीच भनाभन भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाललाई ‘तपाईंको शुभकामना मलाई चाहिएन र तपाईंले शुभकामना नदिँदैमा केही हुन्न’ भन्दै बैठक टुंग्याउन खोजेका बैठकमा सहभागी एक नेताले बताए । नेपालले ओलीलाई ‘तपाईं…हो’ भन्दै बठोर शब्द प्रयोग गरेको एक सचिवालय सदस्यले बताए ।

नेपालले पुनः राजेन्द्र गौतममाथि कारबाहीको माग गरेपछि ओलीले पत्रिकाको समाचार देखाउँदै ‘तपाईँले फरक मत नलेखी मिडियामा बाँड्नुहुन्छ भने तपाईँको कदम गलत भयो भनेर अर्कोले फेसबुकमा लेख्न पाउँदैन ?’ भन्ने प्रश्न गरेका थिए । दुई नेताको भनाभन बढ्न थालेपछि अध्यक्ष दाहालले नेपाललाई रोक्न खोजेका थिए ।

पछिल्लो समय आफ्नो तेस्रो बरियता खोसिएपछि नेता नेपाल अध्यक्ष ओलीसँग रुष्ट बनेका छन् । अन्त्यमा बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्ने प्रस्ताव पारित गर्दै अरु एजेण्डा अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।