सुदूरपश्चिम

बजेट अभावले सञ्चालन हुन सकेन थारू सङ्ग्रहालयः रु ३० लाख बजेट अपुग

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र भम्केपानीमा निर्माण गरिएको थारू सङ्ग्रहालय भवन बजेट अभावले सञ्चालन हुन सकेको छैन ।

स्थानीय थारू जनजाति आदिवासी समुदायले बसोबास गर्ने परम्परागत शैलीको घर निर्माण गरिएको झण्डै तीन वर्ष बित्नै लागे पनि सङ्ग्रहालयमा राखिने वस्तुहरुका लागि आवश्यक रकमको व्यवस्था गर्न नसक्दा भवन उद्घाटन हुन नसकेको हो ।

आव ०७४ः७५ को नगरपालिकाको वडा कार्यालयको रु पाँच लाख र स्थानीय बासिन्दाको श्रमदानमा सङ्ग्रहालय भवन निर्माण गरिएको थियो । निर्माण गरिएको भवन गत वर्ष हात्तीको झुण्डले भत्काउँदा निकै क्षति पुगेको थियो । गत वर्ष नै भवन मर्मत गरिएको छ ।

सङ्ग्रहालयमा थारू समुदायका पहिरन, गहना, सहनसहनका परम्परागत सामग्रीको व्यवस्था गर्न र भवनको सुरक्षार्थ कर्मचारीको व्यवस्था गर्न बजेट अभाव हुँदा सङ्ग्रहालय उद्घाटन भई सञ्चालन हुन नसकेको वडाध्यक्ष बहादुर सिंह महराले बताए ।

“वडाका लागि विनियोजन हुने थोरै बजेटले सङ्ग्रहालयका लागि सामग्री जुटाउन निकै गाह्रो छ”, उनले भने, “सङ्ग्रहालय सञ्चालनका लागि तत्काल रु ३० लाखभन्दा बढी बजेटको आवश्यकता छ । त्यो जुटाउन नसक्दा सङ्ग्रहालय भवन अलपत्र अवस्थामा परेको छ ।”

वडाको थोरै बजेटले थोरै सामग्री राखेर यस वर्षको माघीमा उद्घाटनसम्म गर्ने भन्ने सोच रहेको उनले बताए । दातृ निकाय र अन्य क्षेत्रबाट बजेटको व्यवस्था गरेर सामग्री राखिने उनको भनाइ रहेको छ । बस्तीभन्दा निकै टाढा सङ्ग्रहालय भवन रहेकाले सुरक्षा अर्को चुनौतीका रुपमा रहेको छ ।

थारू सङ्ग्रहालय भवन निर्माण गरिएको क्षेत्रसँगै जोडिएको भम्का पर्यटकीय क्षेत्रमा रहेको पानीको कुण्डमा हिउँदमा तातो र गर्मीमा चिसो पानी हेर्नकै लागि दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।

कुण्डमा रहेको पानी आफैँ माथि उफ्रिने भएकाले यसको दृश्य नियाँल्न र क्यामेरामा कैद गर्न पर्यटक यहाँ पुग्ने गर्दछन् । यो क्षेत्र थारू समुदायको ठूलो तीर्थका रुपमा समेत रहेको छ । माघे सङ्क्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।

मेलामा आउनेहरुले कुण्डमा नुहाएमा सबै पाप कर्म नाश हुने र चर्मरोग हटेर जाने विश्वासका साथ यहाँ पुग्ने गरेको स्थानीयवासी डिल्ली चौधरीले बताए । यस क्षेत्रप्रति थारू समुदायको अगाध श्रद्धा रहेकाले उनीहरुले सोमबारे औँसी, माघेसङ्क्रान्ति बेला यस क्षेत्रमा पुगी पूजा गरी कुण्डमा अनिवार्य नुहाउने गर्दछन् ।