बाग्मती

पर्यटक प्रवेश शुल्क बराबरी, बोलपत्रमा दुई नगरपालिकाको विवाद

भक्तपुर । पर्यटकीय क्षेत्र नगरकोट आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्तरूपमा पर्यटन सेवा शुल्क सङ्कलन गरेका छन् ।

गत वर्ष दुई नगरपालिको फरक–फरक ठाउँमा छुट्टाछुट्टै पर्यटकसँग शुल्क लिँदा व्यवसायीहरुले एकै ठाउँमा आएका पर्यटकले दोहोरो कर तिर्नुपरेको भन्दै विरोध गरेका थिए । विरोधपछि चाँगुनारायण नगरपालिकाले बोलपत्रसमेत रद्द गरी पर्यटन शुल्क उठाउन छाडेको थियो भने मण्डन देउपुरले एकलौटीरूपमा शुल्क उठाएको थियो ।

यस वर्ष भने दुई नगरपालिकाको बैठकले सहमति गरी आर्थिक वर्ष २०७६ः७७ को साउन १ गतेबाट पर्यटकसँग संयुक्तरूपमा शुल्क उठाउन थालिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । यो वर्ष सङ्कलन भएको पर्यटन शुल्क दुवै नगरपालिकाले आधा–आधा बाँड्ने र सङ्कलित रकम पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गरिने सहमति भएको छ ।

नगरकोट अवलोकनका लागि आउने पर्यटकबाट साउन १ गतेदेखि चाँगुनारायण–६ भट्टेडाँडा र ८ कलमसीमा प्रवेश शुल्क सङ्कलन गर्दै आएको छ । नगरकोट आउने सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग प्रतिव्यक्ति रु ३५० र सार्क राष्ट्रभित्रका पर्यटकसँग रु २५० प्रवेश सेवा शुल्क निर्धारण गरेर शुल्क लिँदै आएको छ ।

दुवै नगरपालिकाको सहमतिमा न्यूनतम रु तीन करोडमा पर्यटन शुल्क उठाउन दिने गरी चाँगुनारायण नगरपालिकाले गत जेठ २६ गते बोलपत्र आह्वान गरी असार २४ गते खुलाए पनि दुई नगरपालिकाबीच पुनः विवाद शुरु भएको छ । आगञ्जा कन्स्ट्रक्सनले रु तीन करोड २० हजार र निकेश मल्टिपर्पोजले रु तीन करोड २९ लाख कबोल गरेर बोलपत्र हालेकामा बढी रकम कबोल गर्ने निकेशको बोलपत्रमा प्रक्रिया नपुगेको र आगञ्जाको कबोल रकम कम भएको छ ।

चाँगुनाराण नगरपालिका कम रकम कबोल गरे पनि रीत पुगेको आगञ्जालाई पर्यटन शुल्क सङ्कलन गर्ने गरी बोलपत्र दिने पक्षमा रहेको छ । तर, काभ्रेको मन्डन देउपुर नगरपालिका भने रीत पु¥याएर बढी रकम कबोल गर्ने निकेशलाई बोलपत्र दिनुपर्ने अडानमा छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख मिश्रले रीत पुगेर आएको बोलपत्र स्वीकृत गरौँभन्दा मण्डन देउपुर नगरपालिकाले नमानेपछि बोलपत्र स्वीकृत हुन नसकेको बताए । मिश्रले भने, “साउन १ गतेदेखि दुवै नगरपालिकाका कर्मचारीले संयुक्तरूपमा पर्यटन शुल्क सङ्कलन गर्न थालिसकेको छ, अब पुनः बोलपत्र आह्वान गर्नेभन्दा पनि प्रक्रिया पुगेको बोलपत्र स्वीकृत गराँै भनेका हौँ, तर मण्डन देउपुरसँग यसबारेमा सहमति हुनसकेको छैन, दुई नगरपालिका छलफल गरेर टुङ्याउने योजनामा छौँ ।”

यता मन्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले भने प्रक्रिया नपुगे पनि बढी बोलकबोल गर्ने निकेशलाई बोलपत्र स्वीकृत गर्नुपर्ने बताउछन् । उनी भन्छन्, “हामीलाई धेरै रकम चाहिएको हो, प्रक्रिया नपुगे पनि बढी रकम हाल्नेको बोलपत्र स्वीकृत गरौँभन्दा चाँगुनारायण नगरपालिका मान्दैन, अन्तिम विकल्प पुनः बोलपत्र आह्वान गर्ने नै हो, पुनः बोलपत्र आह्वान गर्न पनि चाँगुनारायणले नपाले मानेको छैन ।”

तर बोलपत्र हालेका आगञ्जा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र आगञ्जाले भने नियोजितरुपमा आफूलाई बोलपत्र नदिन ढिलासुस्ती गरिरहेको आरोप लगाए।