समाचार

अछाममा जिप दुर्घटनाः तीनको मृत्यु

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबाग भन्ने स्थानमा बुधबार राति करीब साढे ८ बजे भएको दुर्घटनामा अन्य तीन घाइते भएका छन् ।

रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से१ज ९९५ नंको जिप जयगढ–माझेठाना सडकखण्डअन्तर्गत सुकिबागमा बुधबार राति करीब साढे ८ बजेतिर सडकबाट करीब ५०० मिटर तल खस्दा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ बस्ने काले परियार र बैतडी घर भएका सवारी चालक लाल बोहराको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जङ्गीर चौधरी र कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी घाइते भएका छन् ।

उनीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिएका छन् । रातिको समयमा तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताएका छन् ।