खेलकुद

एभिसी सेन्ट्रल जोनमा आज सेमिफाईनलका खेलहरु हुदै

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज बिहिबार सेमिफाईनलका खेल हुदैछ ।

पहिलो खेलमा किर्गिस्तानले तुर्कमेनिस्तान तथा दोस्रो खेलमा उज्वेकिस्तानले माल्दिभ्स भिड्नेछन् । समुह एको विजेताको किर्गिस्तान सेमिफाईनल प्रवेश गरेको हो भने तुर्कमेनिस्तानले उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पक्का गरेको हो । ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

किर्गिस्तानले समुह चरणमा सतप्रतिशत जित निकाल्दै नेपाल र माल्दिभ्सलाई हराएको थियो । समुह बीको उपविजेता तुर्कमेनिस्तानले अफगानिस्तान र बंगलादेशलाई हराएको थियो । समुह चरणको अन्तिम खेलमा तुर्कमेनिस्तान टोली उज्वेकिस्तानसंग हारेको थियो ।

दोस्रो सेमिफाईनलमा उज्वेकिस्तानले माल्दिभ्ससंग खेल्नेछ । उज्वेकिस्तान समुह बीको विजेता हो भने माल्दिभ्स समुह एको उपविजेता हो । खेल अपरान्ह साढे ५ बजे सुरु हुनेछ ।

उज्वेकिस्तानले समुह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा बंगलादेश, तुर्कमेनिस्तान र अफगानिस्तानलाई हराएको थियो । माल्दिभ्सले भने समुह चरणको खेलमा नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो खेलमा माल्दिभ्स किर्गिस्तानसंग हारेको थियो । नेपाल समुह चरणको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।