कर्णाली प्रदेश

डिजेल प्लान्टबाट दैनिक तीन सय लिटर खर्च

खलङ्गा । जुम्लाको साना जलविद्युत् आयोजनाको मर्मत कार्य नहुँदा अहिले विकल्पको रुपमा डिजेल प्लान्टबाट बिजुली निकालिएको छ । भारतीय राजदूतावासले नयाँ मेसिन निर्माण कार्यको जिम्मा लिएको भए पनि समयमै नबनाउँदा जुम्ला पूर्णरुपमा बत्तीविहीन भएको थियो ।

जिल्ला अन्धकार भएपछि अल्पकालीन अवधिका लागि प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत विनियोजन गरेका रु ५० लाख रकममा डिजेलबाट १६० किलोवाट बत्ती उत्पादन भइरहेको छ ।

डिजेल प्लान्टबाट बलेको बत्तीले भने दैनिक ३०० लिटर तेल खर्च भइरहेको साना जलविद्युत् उपभोक्ता समितिका कार्यालय प्रमुख हर्कबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार प्रतिघण्टा २६ देखि ३० लिटरका दरले १० घण्टा बत्ती सञ्चालन गरिँदै आएका छौँ । उपभोक्तालाई भने साउन महीनाभर निःशुल्क र भदौदेखि रु ८० शुल्क लगाइएको उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढथापाले जानकारी दिए ।

प्राधिकरणको जनेरेटर थन्कियो

जुम्ला पूर्ण अँध्यारो भएपछि जुम्लाका सांसद महतको पहलमा नेपाल विद्युत् प्राधिकरणले ३०० केभीको जेनेरेटर र एक जना इञ्जिनीयर पठाएको छ तर डिजेल कसरी हाल्ने भन्ने टुङ्गो नलागेपछि अहिले मेसिन थन्किएको अध्यक्ष बुढथापाले जानकारी दिए । साना जलविद्युत् उपभोक्ता समितिको बत्ती अन्योल भएपछि डिजेलबाट दुई दिनमा एक दिन बत्ती उत्पादन गर्ने गरिएको छ ।

विसं २०४० मा निर्माण गरिएको आयोजना समितिले सञ्चालन गर्दैआएको छ । प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन ३३ केभीको दैलेख हुँदै बोलपत्र भइसकेको बताएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र स्थानीयवासीको लगानीमा पातारासीको चुकेनी खोलाबाट करीब एक मेघावाटको आयोजनाको निर्माण कार्यसमेत भइरहेको अध्यक्ष गोरबहादुर रावतले जानकारी दिए ।

यसैगरी प्रतिनिधिसभा सांसद महतले नै निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत तिल्ला हाइड्रोसमेत निर्माण भइरहेको छ ।