राजनीति

ओलीले माधवलाई गनेनन्, प्रवक्ता श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्री विरुद्धको प्रस्तावमा छलफलै भएन’

काठमाडौँ । थप गृहकार्य जरुरी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार पुनःबस्ने गरी आज सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायतका विषयमा छलफल भए पनि थप गृहकार्य जरुरी रहेको भन्दै कुनै निर्णयमा पुगन सकेन ।

बैठकमा ती विषय प्रवेश पाए पनि थप गृहकार्य जरुरी रहेको भन्ने निष्कर्षमा नेताहरु पुगेपछि बैठक बिहीबारका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै पोलिटब्युरो चयनको विषय पनि बाँकी रहेको छ । पार्टी एकताका आधारभूत कार्यलाई टुङ्गो लगाएको नेकपाले बाँकी रहेका कामलाई समेत सम्पन्न गरी नयाँ सन्देश दिने तयारी गरेको जनाएको छ ।

यस्तै पार्टीका नेता माधवकुमार नेपालले दर्ता गराएका असहमतिका विषयमा भने कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असमति जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले नेता नेपालको असहमतिका विषयमा छलफल गर्नुपरे छुट्टै प्रस्तावमा छलफल गर्न सकिने बताए । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने तयारी गरिएको छ ।

यसैबीच सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच छुट्टै छलफल भएको छ । मङ्गलबार प्रधानमन्त्रीको आयोजनामा भएको सर्वदलीय छलफलपछि आज दुई दलको छुट्टै बैठक आयोजना गरिएको हो । सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयक तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, प्रवक्ता श्रेष्ठ सहभागी छन् । यस्तै काङ्ग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता डा मीनेन्द्र रिजाल र पूर्णबहादुर खड्का सहभागी छन् ।