आर्थिक

बैंकको रु १८ करोड रकम हिनामिना गर्ने प्रबन्धक बुढाथोकी पक्राउ

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई पक्राउ गरेको छ ।

बैंकको करीब रु १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार आरोपित बुढाथोकीले बैंकको रु १७ करोड ९९ लाख हिनामिना गरेका थिए । बैंकको केन्द्रीय कार्यालयको उजुरीका आधारमा लमहीबाट उनलाई पक्राउ गरिएको हो ।

बुढाथोकीले ३५ जना नक्कली ऋणी तयार गरी आफूलाई फाइदा हुने गरी बैंकबाट पैसा झिकेको बैंकले जनाएको छ । आरोपित बुढाथोकीलाई थप अनुसन्धानका लागि आजै नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ । दाङमा वाणिज्य इजलास नभएकाले नेपालगञ्ज पठाइन लागिएको प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए ।

घोराही–१५ भरतपुर निवासी बुढाथोकी २०६७ देखि बैंकमा कार्यरत हुनुहुन्थ्यो । डेढ वर्षअघि मात्रै उनी प्रबन्धकका रूपमा नियुक्त भएको बताइएको छ ।

मूर्तिमा सुनको जलप लगाएर बिक्री गर्ने पक्राउ

बुद्धको मूर्तिमा सुनको जलप लगाएर सुनको मूर्ति भन्दै महँगो मूल्य बेच्ने गरेको आरोपमा दाङमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले दाङको राजपुर नाका हुँदै छिमेकी देश भारत गएर जलप लगाएको बुद्धको मूर्तिलाई ‘सुनको मूर्ति’ भन्दै महँगो मूल्यमा बेचेका थिए । मूर्ति बेचेर जिल्लाकै भैंसाही नाका हुँदै फर्कंदै गर्दा गोप्य सुराकीको आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवत्ता शाहका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँकेको कोहलपुर नगरपालिका–२ प्रेमनगर निवासी ४२ वर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पाको त्रिवेणी गाउँपालिका–९ निवासी ४३ वर्षीय प्रकाश केसी र जाजरकोटको बारेकोट गाउँपालिका–८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक रहेका छन् ।

प्रवक्ता शाहले बुद्धको मुर्ति काठमाडौँमा किनेर त्यसमा सुनको जलप लगाई दाङको नाका हुँदै भारतमा गएर झुक्याएर महँगो मूल्यमा बेचेको खुल्न आएको बताए । उनले उनीहरु सबैलाई सुराकीको आधारमा पूर्वपश्चिम राजमार्गअन्तरगत दाङको लमही नगरपालिका–९ जलकुन्डी क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।

“उनीहरुलाई रकम भागवन्डा गरिसकेर राजमार्ग क्षेत्रमा आ–आफ्नो घरतर्फ जान बस कुरिरहेको अवस्थामा पक्राउ गरिएको हो”, प्रवक्ता शाहले भने, “उनीहरुकै बीचबाट सूचना प्राप्त भएपछि प्रहरीलाई सजिलो भएको हो ।”

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर अनुसन्धान सुरु गरिएको प्रवक्ता शाहले जानकारी दिए ।