बाग्मती

जोखिममा रहेका बालबालिकालाई सहकारी सङ्घको सहयोग

चरिकोट । जिल्ला सहकारी सङ्घ दोलखाले २७औँ स्थापना दिवसका अवसरमा जोखिममा रहेका बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

जिल्लाको चरिकोटस्थित आवाज नेपालद्वारा सञ्चालित स्नेह केन्द्रमा बसोबास गर्ने जोखिममा परेका ११ बालबालिका तथा किशोरीलाई आवश्यक पर्ने खाद्यान्नका सामग्री सहयोग गरेको छ । बालबालिकाका लागि आवश्यक पर्ने दाल, चामल, तरकारी, चिउरा, बिस्कुट, सरसफाइका सामग्री गरी करीब रु १० हजार बराबरको सहयोग गरेको जिल्ला सहकारी सङ्घ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले बताए ।

दोलखाको चरिकोटस्थित आवाज नेपालले सञ्चालन गरेको स्नेह केन्द्रमा दोलखा जिल्लाको जोखिममा परेका ११ बालबालिका तथा किशोरीको हेरचाह गर्दै आएको छ । विभिन्न कारणले जोखिममा परेका बालबालिकाको हरेरचाह गर्नाका साथै आवाज नेपालले बालबालिकालाई अध्यापनसमेत गराउँदै आएको छ ।

हाल पाँच बालबालिका, दुई सुस्तःमनस्थितिका र अन्य विभिन्न कारणले जोखिममा परेका किशोरी रहेको आवाज नेपालका अध्यक्ष सिर्जना कार्कीले बताए ।

दोलखा जिल्लाको विभिन्न क्षेत्रका बालबालिकाको बसोबास रहेको भए पनि स्थानीय तहलगायत अन्य क्षेत्रहरुबाट सहयोग नपाएका कारण स्नेह केन्द्र सञ्चालनका लागि समस्या हुने गरेको अध्यक्ष कार्कीले बताए ।