समाचार

आज नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकः यस्ता छन् वैठकका एजेण्डा

काठमाण्डौ । काठमाडौंमा बुधबार आजदेखी नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक सुरु हुँदै छ । दुइइ देशबीच बिगतमा भएको सन्धि सम्झौता लगाएत विभिन्न समसामयीक विषयमा बैठक केन्द्रित हुने बताईएको छ ।

राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुने बैठकको कार्यसूची छ । साथै रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नयाँ विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना पनि रहेको छ ।

बैठकको सुरुमै केही नयाँ समझदारीमा दुई देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अपरान्ह ३ बजेपछि बैठक सुरु हुने बैठकमा संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची पनि रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

आजको बैठकमा भाग लिनका लागि भारतीय विदेशमन्त्री डा। सुव्रमण्यम जयशंकर आजै काठमाण्डौ आउने र उनि आए लगत्तै बैठक सुरु हुने बताईएको छ । भारतमा नरेन्द्र मोदी नेतृत्वको दोस्रो सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।

बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी जयशंकरले गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सदस्य सहभागी हुने भएका छन् ।