आर्थिक

जुम्लामा स्याउ महोत्सव गरिँदै

सिञ्जा । जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । त्यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ ।

पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको तथ्याङ्क कृषि ज्ञान केन्द्रले देखाएको छ । अघिल्लो वर्ष तीन हजार १५० मेट्रिकटन स्याउ फलेको थियो । यस वर्ष त्यसको दोब्बर छ मेट्रिकटन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रको छ ।

यस्तै यही सम्भावनालाई उजागर गर्न दोस्रोपटक यही भदौ १४ गते ‘जुम्ला स्याउ महोत्सव २०७६’ हुने भएको छ । त्यहाँ उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म चिनाउन स्याउ सम्मेलन गर्न लागिएको हो । भदौ १४ गते जुम्ला स्याउ महोत्सवको उद्घाटन कर्णाली प्रदेशका कृषिमन्त्री विमला केसीले गर्ने कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले जानकारी दिएकि छन् ।

आयोजक कान्जिरोवा टाइम्सले स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणमा टेवा पुर्याउने, एप्पल टुरिज्मको आधार तय गर्ने र स्याउका परिकारको उत्पादनसम्बन्धी प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जनाएको छ । आयोजक कान्जिरोवाका निर्देशक कार्कीले उत्पादित स्याउको निर्यात प्रक्रियालाई प्रभावकारी बनाउने र स्याउ खानकै लागि जुम्ला पुग्न सघाउ होस् भनेर स्याउ महोत्सव गर्न लागिएको बताएका छन् ।

उहाँका अनुसार जुम्ला स्याउबाट आत्मनिर्भर बन्दै गएको छ । जुम्लालाई ‘एप्पल टुरिज्म’का रुपमा चिनाउन महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । देश तथा विदेशमा स्याउप्रतिको आकर्षण बढाउन महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

एक दिनको महोत्सवमा स्याउका विभिन्न परिकारका स्टल राखिने समेत कार्कीले जानकारी दिएका छन् । सदरमुकाम खलङ्गामा चल्ने महोत्सवको मुख्य आकर्षण भनेको जुम्लामा फल्ने विभिन्न एक दर्जन बढी प्रजातिका स्याउबाट बन्ने विभिन्न किसिमका परिकार रहने छन् । यसमध्ये करीब दुईतिहाई रेड र गोल्डेन डेलिसियस जातका स्याउका परिकार विषेश आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।

पछिल्ला तीन वर्षयता जुम्लामा शुरु गरिएको इटालियन फिजी स्याउ पनि स्टलमा राखिने कार्कीले जानकारी दिनुभयो । स्याउसम्बन्धी सम्पूर्ण जानकारी दिन स्याउ सूचना केन्द्र स्थापना गरिनेछ । यस्तै विभिन्न स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ । डकुमेन्ट्री एण्ड पोष्टरिङ बाल क्रियाकलाप र एप्पल ट्री प्रदर्शन नै स्याउ महोत्सवका आकर्षण हुन् । यही सम्भावनालाई उजागर गर्न जुम्लामा पहिलोपटक गत वर्ष भदौ १६ गते स्याउ महोत्सव गरिएको थियो ।