अन्तर्राष्ट्रिय

ब्राजिलमा बन्दूकधारीद्वारा १६ यात्रुलाई बन्धक, उद्धार प्रयासमा प्रहरी

रियो द जनेरियो । ब्राजिलको दोस्रो ठूलो शहर रियो द जनेरियोमा मङ्गलबार एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलीयाली अधिकारीले जनाएका छन् ।

प्रहरीले उनीहरूलाई छुटाउन अपहरणकारी उक्त व्यक्तिसँग वार्ता शुरू गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै मङ्गलबार समाचार तयार पार्दासम्म बन्धक बनाइएका छ जना अपहरणकारीको कब्जाबाट उम्किन सफल भएका पनि ब्राजिलियाली सञ्चारमाध्यमहरूले बताएका छन् ।

अपहरणकारीले रियो र छिमेकी शहर नितेरो जोड्ने पुलमा बसलाई रोकेर राखेपछि प्रहरीले उनीहरूलाई छुटाउने पहल गरेको हो ।

ब्राजिलको जी–वन समाचार संस्थाका अनुसार बसलाई अत्याधुनिक हतियारले सुसज्जित प्रहरीको ठूलो समूहले घेरी आधुनिक हतियार र विष्फोटक पदार्थ बोकेको अपहरणकारीसँग वार्ता गरिरहेका छन् ।

बन्दूकधारी उक्त व्यक्ति स्थानीय समय अनुसार विहान ५ः३० बजे बसमा चढेको केही समयमा यात्रुलाई आफूले बन्धक बनाएको भन्दै दायाँबायाँ नचल्न चेतावनी दिएको थियो । उक्त घटनाका कारण रियो–नितेरो पुल भएर चल्ने अन्य यातायातका साधन पनि अवरूद्ध बनेका छन् ।

घटनास्थलबाट प्रत्यक्ष प्रशारण गरिएका टेलिभिजनहरूले बसमा बन्दूकधारीले यात्रसलाई बन्धक बनाएर थुनेर राखेको र वरपर एम्बुलेन्ससहित सुरक्षाकर्मी सतर्क अवस्थामा रहेको देखाइएको छ ।

अपहरणकारीले कुनै माग राखेको वा नराखेकोबारे कुनै जानकारी बाहिर आउनसकेको छैन । ब्राजिलको रियो द जेनेरियोमा बन्दूकधारीद्वारा नागरिकलाई बन्धक बनाउने र हत्या गर्ने बिषय पछिल्ला केही बर्षमा बढेको छ ।