राजनीति

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक नेपालको हितमा हुनुपर्छ: डा. भट्टराई

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा विज्ञहरुले भारतसँग हुने उच्चस्तरीय छलफलमा नेपालको आर्थिक विकास, सीमा समस्या, परियोजना कार्यान्वनय तथा तराई डुबानमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।

प्रमका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बुधबार नै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्ने र त्यस बैठकमा ती दुई मुलुकबीच बहुपक्षीय सम्बन्ध, दुई देशबीचको निकटको सम्बन्ध, नेपालमा आर्थिक लगानी, भारतसँगको नेपालको व्यापार, सीमा, डुबान, सन् १९५० को सन्धिलगायत समग्र विषयमा उच्चस्तरीय छलफल हुने जानकारी दिए ।

डा भट्टराईले बितेका दिनमा नेपाल र भारतका नेताबीच सौहाद्र्र तथा विश्वासको वातावरण विकास हुँदै गइरहेको बताउँदै नेपालले भारतसँग संयुक्त राष्टसङ्घको वडापत्र तथा पञ्चशीलको सिद्धान्तको आधारमा वार्ता गर्ने बताए । अर्को प्रसङ्गमा डा भट्टराईले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ आफ्नो काममा निरन्तर खटिरहेका जानकारी दिँदै प्रधानमन्त्रीको स्वास्थ्य पुनःपरीक्षण गर्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भदौ ५ गते सिङ्गापुर जान लागेको बताए ।

पूर्वराजदूत दुर्गेसमान सिंहले नेपाल भारतबीचको सम्बन्धले नयाँ गति लिएको बताउँदै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणबाट दुई दशकदेखि गतिहीन भएका परियोजनाले गति पाउने विश्वास व्यक्त गरे । उनले नेपाल–भारतबीच कुनै समस्या नभएको, व्यापार, पर्यटन, ट्रान्समिसन आदि क्षेत्रमा प्रगति भएको तथा नेपालमा विद्युत् भार कटौती अन्त्य भएको उल्लेख गरे ।

बुद्धिजीवी डा सुन्दरमणि दीक्षितले पाँच वर्षका लागि आएका भारतीय प्रम मोदीको सरकारबाट नेपालले भरपुर लाभ लिनुपर्ने बताए । उनले दशैँमा घर फर्किने बेला भारतीय भूमिमा नेपाली कामदार लुटिने गरेको र यस विषयमा भारतसँग छलफल गरी समस्या समाधान गर्नुपर्ने औँल्याए ।