बाग्मती

ललितपुर महानगरपालिकाबाट सय बढीले लिए अपाङ्गता परिचयपत्र

ललितपुर । ललितपुर महानगरपालिकाबाट एक महीनामा ११२ अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्र लिएका छन् । महानगरपालिकाले सो योजना अघि बढाएको एक महीना अवधिभरमा ५२ महिला र ६० पुरुषले सो परिचयपत्र लिएका हुन् ।

गत असार २५ गतेदेखि सो योजना अघि बढाइएको महानगरपालिकाको महिला विकास शाखा प्रमुख अधिकृत महेश्वरी विष्टले जानकारी दिएका छन् । उनले भने “महानगरबाट पूर्ण अपाङ्गतामा ११ महिला र २२ पुरुष, अति अशक्तमा २९ महिला र ३१ पुरुष, मध्यम अपाङ्गतामा १२ महिला र छ पुरुष तथा साधारण अपाङ्गतामा एक पुरुषले मात्र परिचयपत्र लिएका छन् ।” महानगरले सो परिचयपत्र वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिको चाप बढेको बताइएको छ ।

अपाङ्गता परिचयपत्र वितरणका अलावा अन्य विभिन्न काममा पनि ध्यान दिनुुपर्ने भएकाले यही भदौदेखि महीनाको दुई पटक पाँच र २० गते वितरण गर्ने योजना अघि बढाइएको विष्टले बताए । सो परिचयपत्रले अपाङ्गता भएका व्यक्तिलाई यातायात, अस्पताल र हवाइमार्गमा छुटको सुविधा दिलाउन सहयोग गर्छ ।

महानगरको वडा नं ६ मा ५६, ७ मा ५६ र ८ मा ५८ अपाङ्गता भएका व्यक्ति रहेका शाखाका महिला विकास अधिकृत शोभा खरेलले बताएका छन् । उनले “महानगरका अन्य २६ वडामा अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलनको काम अघि बढेको छ, सबै वडामा तथ्याङ्क सङ्कलन गर्ने काम समाप्त भएपछि नयाँ अपाङ्गताका हकमा नयाँ कार्यक्रम ल्याउनेछौँ भने ।

विगतमा अपाङ्गता परिचयपत्र पुस्तक ढाँचामा प्रकाशन भएको थियो भने हाल नागरिकता प्रमाणपत्र आकारमा भित्रिएको छ । महानगरमा सो परिचयपत्र लिन आउने व्यक्तिले अनिवार्यरूपमा सम्बन्धित वडा कार्यालयको सिफारिश, तस्वीर टाँसेको निवेदन, उमेर पुगेको हकमा प्रमाणका लागि नागरिकता र उमेर नपुगेको हकमा जन्मदर्ता, बसाइँसराइ गरेको भए सोको पत्र, अस्पष्ट अपाङ्गता भएकाको हकमा अस्पतालको पत्र ल्याउनुपर्ने हुन्छ ।

महानगरपालिकाबाट परामर्श दिइने

महानगरपालिकाको महिला विकास शाखाले ‘क’ वर्गको परिचयपत्र लिने अपाङ्गता भएका व्यक्तिलाई परामर्श दिने गरेको छ । ‘क’ वर्गको अपाङ्गता भएका मानिसमा मनोरोगको समस्या देखिएसँगै परामर्श दिन शुरु गरिएको छ ।

यस्ता मानिस समाजमा बाहिर ननिस्कने तथा यिनले अरुसँग मनको कुरा खोल्न नपाउने हुँदा मनोरोग बढेको बताइएको छ । नेपालमा अपाङ्गतालाई चार प्रकारमा वर्गीकरण गरी १० भागमा विभाजन गरिएको छ ।

शारीरिक, दृष्टिसम्बन्धी, सुनाइसम्बन्धी, श्रवणदृष्टिविहीन, स्वर तथा बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक अपाङ्गता, हेमोफेलिया र बहुअपाङ्गता भएका व्यक्तिले अपाङ्गताको परिचयपत्र पाउनेछन् ।