अन्तर्राष्ट्रिय

५०० रोहिङ्ग्या म्यानमार फर्काउने तयारीमा बङ्लादेशी सरकार

एजेन्सी । बङ्लादेशमा शरणार्थीका रूपमा रहेका झण्डै तीन हजार ५०० रोहिङ्ग्यालाई म्यानमार फर्काउने तयारी भएको छ । सरकारी उच्च अधिकारीले सोमबार दिएको जानकारी अनुसार उनीहरुलाई घर फर्काउने प्रक्रिया यसै हप्ता सुरु हुनेछ ।

सैनिकको ज्यादतीबाट आजित भएर झण्डै दुई बर्ष अगाडि उनीहरू भागेर बङ्लादेश आएका थिए । सन् २०१७ को अगस्टतिर झण्डै सात लाख ४० हजार रोहिङ्ग्या शरणार्थीहरू विस्थापित भएर बङ्लादेश आएका थिए । उनीहरुलाई स्वदेश फर्काउनका लागि फिर्ती सम्झौतामा हस्ताक्षर गराउने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।

बङ्लादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले आउँदो बिहीबार थप शरणार्थीहरुलाई म्यानमार फर्काउने प्रक्रिया शुरु हुने विश्वास व्यक्त गरे । यसअघि सन् २०१८ को नोभेम्बरमा २२ सय ६० शरणार्थीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेकोमा सुरक्षाको सुनिश्चितता नभएकाले फर्किन नसकिने भन्दै शरणार्थीहरुले घर फर्किन अस्वीकार गरेका थिए ।

उनले कसैलाई पनि जबरजस्ती फर्किनका लागि दवाव नदिएको पनि स्पष्ट पारेका छन् । दुवै देशका अधिकारीहरुले स्वदेश फर्काउन तयार पारिएका तीन हजार ५०० शरणार्थीमध्ये हरेक दिन तीन सय जनाका दरले रोहिङ्ग्या शरणार्थीहरुलाई म्यानमार फर्काउने योजना बनाएका छन् ।