अन्तर्राष्ट्रिय

मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ । भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाई सोमबार गर्ने तय भएको थियो ।

अहिलेसम्म उच्च अदालतले पक्ष विपक्षका वकीलहरुको राय सुनिसकेको छ । यसक्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले समय आवश्यक भएको भन्दै अदालतले सुनुवाई स्थगन गरेको हो ।

उच्च अदालतले सो सुनुवाई अब यही अगष्ट २६ का लागि तोकेको छ । प्रधानमन्त्री रजाकमाथिको यो अभियोग मलेसियाको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोग रहेको बताइएको छ ।

उनीमाथि आफू सत्तामा रहेका बेला १–विकास–कोषको करिब २ अर्ब ६ करोड मलेसियाली रिंगिट (६२ करोड अमेरिकी डलर) बराबरको रकम भ्रष्टाचार गरेको आरोप छ ।

त्यस आरोपमा गत वर्षदेखि नै अनुसन्धान सुरु भएको छ । सर्वोच्च अदालतमा विचाराधीन सो मुद्दाको अबको सुनुवाई अन्तिम हुने अनुमान गरिएको छ ।

उनीमाथि भ्रष्टाचारका चार अलग अलग अभियोग दर्ता गरिएको छ । तर पूर्व प्रधानमन्त्री रजाकले भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ती अभियोगहरु अस्वीकार गर्दै आएका छन् ।

उनका श्रीमती र छोरामाथि पनि मुद्रा अपचलनको अभियोग लगाइएको छ । उनीहरुले पनि भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका छन् । तर उनीहरुमाथिको भ्रष्टाचारको अभियोग भने अलग्गै हो ।