प्रदेश 2

७० घर रहेको बस्ती नदी कटानको जोखिममा

जलेश्वर । महोत्तरीको उत्तरवर्ती खयरमाराका ७० घर रहेको बस्ती नदी कटानको जोखिममा परेको छ । बर्दिवास नगरपालिका–१० मा पर्ने सो बस्तीको छेउबाट बग्ने मडहा खोलाबाट अहिले जथाभावी ढुङ्गा, बालुवा र गिट्टी उठाउन थालिएपछि सो बस्तीमा कटानको जोखिम बढ्दै गएको हो ।

खयरमारा नजिकै मडहा खोलाबाट दैनिक ट्याक्टरले प्रतिदिन ढुङ्गा, गिट्टी र बालुवा उठाएर लैजाने गरेकाले सो खोला बस्तीतिर पस्न खतरा रहेको स्थानीयले बताएका छन् । सरकारको नियमानुसार असार, साउन र भदौमा नदीजन्य पदार्थ उठाउन प्रतिबन्ध रहे पनि खयरमाराको नदीबाट ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ ।

सरकारले चुरे र चुरे क्षेत्रभन्दा माथिबाट नदीजन्य पदार्थ झिक्न रोक लगाए पनि खयरमारामा सबै नियम, कानूनको बेवास्ता गरी नदीजन्य पदार्थ जथाभावी रुपमा उठाउने गरिएको छ । जथाभावी रुपमा नदी दोहन गर्ने ट्याक्टर चालक तथा मजदूरले वडाध्यक्षको सिफारिसमा नै ढुङ्गा, गिट्टी र बालुवा लगिरहेको बताएका छन् ।

वडाध्यक्ष धनलाल श्रेष्ठले व्यक्तिहरुले जाली भर्नु छ, घर बनाउनु छ जस्ता कुरा गरेर सिफारिस लिन आएपछि थोरै थोरैका लागि सिफारिस दिइएको तर जथाभावी रुपमा गाउँलाई प्रतिकुल असर पर्ने गरी सिफारिस नदिइएको बताए ।

नगरप्रमुख बिदुर कार्कीले आफूलाई यसबारे कुनै औपचारिक जानकारी नभएको र जानकारी भएमा गाउँ बस्ती नै जोखिममा पार्ने गरी नियम विपरीत नदी दोहन गर्ने जोसुकैलाई पनि कानून बमोजिम कारवाही गरिने बताए ।