पर्यटन/संस्कृति

तिलोचो पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो

मुस्ताङ । विश्वकै अग्लो स्थानमा रहेको ताल सुन्दा पनि जोकोहीलाई एक पटक पुगु जस्तो लाग्नु स्वभाविकै हो । पछिल्लो समय तिलोचो पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । तिलिचोप्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटकलाई सहजरुपमा त्यहाँ पुर्‍याउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा मुस्ताङको ठिनीबाट तिलिचोको आधारशिविर नमखुसम्म यतिखेर सडक विस्तार भइहेको छ ।

मुस्ताङको पर्यटकीय गाउँ ठिनीबाट तिलिचोको आधारशिविर नमखुसम्म सडक विस्तार गर्ने योजनाअनुरुप काम अघि बढिसकेको गण्डकी प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली बताउँछन् । “पछिल्ला समय तिलिचोप्रति पर्यटकीय आकर्षण बढ्दै गएको छ”, उनले भने, “पदयात्रा गर्न नसक्नेका लागि नमखुसम्म मोटरबाटो खन्दै छौँ ।”

नमखुबाट करीब तीन घण्टा पैदल हिँडेपछि मेसोकन्दो पास हुँदै तिलिचो ताल पुग्न सकिन्छ । ठिनीबाट नमखुसम्मको मोटरबाटोको लागि गत आवमा रु ५० लाख विनियोजन गरिएको थियो । बाटो लगभग आधा सम्पन्न भइसकेको छ ।

“क्रमागत बजेटमार्फत यस वर्ष पुनः रु ५० लाखमा बाटो निर्माण भइरहेको छ”, थकालीले भने । नमखुबाट हिँड्न नसक्नेका लागि त्यहाँबाट तिलिचोसम्म केबुलकार निर्माण गर्ने योजना रहेको उनको भनाइ छ । भगवान् शिवले तपस्या गरी बसेको किंवदन्ती समेतका आधारमा तिलिचो धार्मिक रुपमा पनि उत्तिकै आकर्षक गन्तव्य हो ।

मनाङको नेस्याङ गाउँपालिका–९ स्थित उक्त ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्छ । चार दशमलव आठ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त ताल वरपर चाँदी जस्तै टलक्क टल्किएको तिलिचो हिमाल, अन्नपूर्ण शृङ्खला र नीलगिरि हिमालले पर्यटकको मन लोभ्याउँछ ।

नमखुसम्म मोटर बाटो निर्माण गरिएसँगै यसले मुस्ताङबाट तिलिचो हुँदै मनाङ झर्ने वा मनाङबाट तिलिचो हुँदै मुस्ताङ झर्ने विकल्प पर्यटकका लागि खुला हुने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए । हिँड्नसक्ने पर्यटकका लागि तिलिचो पदयात्रा उत्तिकै महत्वपूर्ण गन्तव्य भएकोे र मुस्ताङको ठिनीबाट नमखुसम्म सवारीसाधनमा यात्रा गरी त्यहाँ पुग्न सकिन्छ ।

मनाङ र मुस्ताङको विविधतायुक्त रमणीय भूभाग आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्छ । मुस्ताङको पर्यटकीय गाउँ ठिनीमा होमस्टे (घरवास) सञ्चालनमा आएको छ । यहाँबाट मोटरबाटो हुँदै नमखुसम्म पुग्न सकिने भएपछि एकै दिनमा पर्यटक तिलिचो पुगेर पुनःमुस्ताङ नै फर्कनसक्ने घरपझोङ गाउँपालिका–५ का अध्यक्ष वीरेन्द्र थकालीले बताए ।

पर्यटकलाई लक्ष्य गरी नमखुमा आवश्यक पूर्वाधार निर्माण गरिँदैछ । घरपझोङ गाउँपालिकाका उपाध्यक्ष सर्मिला गुरुङ मुस्ताङ हुँदै छोटो समयमा तिलिचो पुगेर फर्कनसक्ने भएपछि यहाँको पर्यटकीय आकर्षण बढ्दै गएको बताउँछन् । “पर्यटकको बढ्दो आगमनसँगै पूर्वाधार विकासलाई पनि सँगसँगै अघि बढाउँदैछौँ”, उनले भने ।