अन्तर्राष्ट्रिय

इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

जिब्राल्टर । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्याँकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ ।

म्यारिन ट्राफिकका अनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी सुपर–ट्याँकरलाई आइतबार साँझ छाडिएको थियो । उक्त ट्याँकर दक्षिणतर्फ प्रस्थान गरेको थियो ।

जिब्राल्टरका सरकारी अधिकारीहरुले उक्त ट्याँकरको गन्तव्यका बारेमा आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

जिब्राल्टरले ग्रेस १ नाम दिइएको सामुद्रिक तेल ट्याँकरलाई युरोपेली संघका प्रतिबन्धहरु उल्लंघन गरी सिरियातर्फ इन्धन लगेको आशंकामा नियन्त्रणमा लिएको थियो । जिब्राल्टरको उक्त कदम पश्चात् बेलायत र इरानबीचको सम्बन्धमा गतिरोध आएको थियो । इरानले पटकपटक आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आएको थियो ।

जिब्राल्टरको सर्वोच्च अदालतले गत बिहीबार तेल ट्याँकर छाड्न आदेश दिएको थियो । अदालतको आदेश लगत्तै इरानले नयाँ चालक दल जिब्राल्टर पठाएको थियो । हाल यस भिमकाय तेल ट्याँकरको नाम एड्रियन दरया राखिएको छ । यस ट्याँकरमा २१ लाख ब्यारेल तेल रहेको छ ।

शुक्रबार नै, अमेरिकी न्याय विभागले उक्त ट्याँकर नियन्त्रणमा लिन आदेश जारी गरेको थियो । अमेरिकाले उक्त ट्याँकरबाट इरानी तेल छुकिछिपी सिरियातर्फ लैजान खोजिएको आरोप लगाएको छ ।

जिब्राल्टर सरकारले अमेरिकी अनुरोधलाई अस्वीकार गरेको थियो । युरोपेली संघभित्र इरानमाथिका अमेरिकी प्रतिबन्धहरु लागू नहुने जिब्राल्टर अदालतको आदेशमा उल्लेख छ ।

म्यारिन ट्राफिकका अनुसार उक्त ट्याँकर ग्रिसको कालामाटातर्फ प्रस्थान गरेको छ । ट्याँकर छाड्नुअघि इरानले युरोपेली संघका प्रतिबन्ध भएका मुलुकमा इरानी ट्याँकर नपठाउने लिखित प्रतिबद्धता जिब्राल्टर सरकार समक्ष व्यक्त गरेको थियो ।

जिब्राल्टरको कदमको विरोधमा इरानले बेलायती ध्वजाबाहक स्टेना इम्पेरो नामको तेल ट्याँकर कब्जामा लिएको थियो ।