कृषि

कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको छ ।

सङ्कलकमार्फत पनि अत्यधिक परिमाणमा दूध बिक्री हुने गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारका अनुसार सहकारी तथा सङ्कलकमार्फत बिक्री हुने दूधबाट गाउँपालिकामा दैनिक रु १० लाख भित्रिने गरेको छ । दूधबाहेक गाउँपालिकाबाट केरा, मकै, कोदो, अदुवालगायत कृषिउपज बिक्री हुने गरेको छ । “गाउँपालिका व्यावसायिक र आधुनिक कृषितर्फउन्मुख हुँदै गएको छ, उत्पादनमा उल्लेख्य वृद्धि भएको छ”, परियारले भए ।

कृषिमार्फत समृद्ध हुने ठानेर कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले बताए । गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा माटो र गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ । पशु आहाराका लागि दाना उद्योग सञ्चानकोसमेत तयारी भइरहेको हुमागाईँ बताउछन् । गाउँपालिकामा हाल ३० ठूला गाईपालन केन्द्र सञ्चालित छन् ।

मकवानपुरगढी गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा हो । आधुनिक खेती प्रणालीमार्फत मकवानपुरगढीमा दैनिक लाखौँ रुपैयाँको तरकारी, केरालगायत उत्पादन बिक्रीका लागि अन्यत्र लैजाने गरिन्छ । राज्मा, बोडी, मास, सिमी, भटमास तथा विभिन्न प्रकारका मौसमी एवम बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने गरेको छ ।