स्वास्थ्य

बाढीपीडित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर- २५० ले स्वास्थ्य जाँच गराए

लहान । खडक नदीको बाढीबाट प्रभावित सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीका बाढीपीडित परिवारलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीब २५० ले स्वास्थ्य जाँच गराएका छन् ।

राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालले आयोजना गरेको शिविरमा गत असार र साउन महीनाको अविरल वर्षा र बाढीका कारण प्रभावित सो गाउँका स्थानीयवासीले निःशुल्क स्वास्थ्य जाँच गराएका हुन् ।

तरहीस्थित स्वास्थ्यचौकीमा आयोजित शिविरमा श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घरोगी तथा रुघाखोकी, झाडापखालालगायतका स्वास्थ्य समस्याबाट पीडितले स्वास्थ्य जाँच गराएको राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालका अध्यक्ष रेखा यादवले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा रोगको सङ्क्रमण फैलिने खतरा रहेकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको अध्यक्ष यादवले बताए ।

शिविरमा डा अजयकुमार चौधरी, डा चन्दन यादव, डा निरेन्द्र चौधरीलगायतका चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य जाँच गराएकालाई निःशुल्क औषधि तथा महिलालाई निःशुल्क सेनेटरी प्याडसमेत वितरण गरिएको जनाएको छ ।

यस्तै बाढी प्रभावित तरहीका स्थानीयलाई सिर्जनशील युवा समूह तरही र राजविराज लायन्स क्लबले त्रिपाल वितरण गरेको छ ।

तरही मावि परिसरमा आयोजित त्रिपाल वितरण कार्यक्रममा राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालका अध्यक्ष रेखा यादव, राजविराज लायन्स क्लबका अध्यक्ष शङ्कर सारडा, स्थानीयवासी तथा त्रिविका उपप्राध्यापक विनोदकुमार विश्वकर्मा, राष्ट्रिय जनचेतना विकास समाजका अन्सु झा, राखी यादव, विनोद यादवलगायतले त्रिपाल वितरण गरे ।