अन्तर्राष्ट्रिय

यसकारण गर्दै छन् टर्कीका वकीलहरुले राष्ट्रपतिको कार्याक्रम बहिस्कार

एजेन्सी । बार एसोसिएसनमा आवद्ध टर्कीका दर्जनौ वकीलहरुले राष्ट्रपतिको कार्यक्रम बहिस्कार गर्ने बताएका छन् । राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रम वकीलहरूले बहिस्कार गर्ने भनी घोषण भएको टर्कीमा यो पहिलो घटना भएको अधिकारीहरुले जनाएका छन् ।

नयाँ न्यायिक बर्षको उद्घाटन समारोह उनीहरुले बहिस्कार गर्नेछन् । उनीहरूले न्यायिक सिद्धान्तको उलङ्घन भएको तर्क गरेका छन् । देशभरका ४२ प्रान्तमा रहेका बार एसोसिएसनमा आवद्ध वकीलहरुले कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन् ।

उनीहरुले आउँदो सेप्टेम्बर २ तारिखमा हुने कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन् । बहिस्कारको नेतृत्व भने इजमिर बार एसोसिएसनले बिहीबार लिएको हो । देशभरका ७९ ओटा प्रान्तका बार एसोसिएसनका लागि निमन्त्रणा गएपछि बारले यस्तो निर्णय लिएको जनाइएको छ ।

कार्यकारी प्रमुखको कार्यालयमा हुन लागेको कार्यक्रममा छुट्टै र स्वतन्त्र अंगको रुपमा रहेको न्यायपालिकालाई अपमान गर्न खोजिएको वकीलहरूको भनाई छ । यो न्यायिक प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्त विपरित रहेको बारले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छब, “हामी यो खेलमा छैनौ, हामीले अरुलाई पनि बहिस्कारमा सहभागी हुन आह्वान गरेका छौँ ।”