राजनीति

आफ्नो देश आफैँ बनाउनुपर्छ, मित्रहरुको भर परेर हुँदैनः मन्त्री बाँस्कोटा

बागलुङ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ज्ञान, पूँजी, प्रविधि र श्रमको समुचित परिचालनबाट मात्रै समृद्धि सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।

ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकाको १६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयको बहसमा प्रमुख अतिथि मन्त्री बाँस्कोटाले कसैको भिक्षा दानले देश नबन्ने तर्क गरे । “आफ्नो देश आफैँ बनाउनुपर्छ”, उनले भने, “मित्रहरुको भर परेर हुँदैन ।” मन्त्री बाँस्कोटाले भूकम्पपछिको पुनःनिर्माणमा प्रतिबद्धता अनुसारको वैदेशिक सहयोग नआएको उल्लेख गरे ।

उहाँले नेपालीको सुख र समृद्धि राष्ट्रिय सङ्कल्प हो भने । “सपनाहरु मुर्छाबाट ब्युँझेका छन्, समृद्धिको सङ्कल्प कार्यान्वयनमा अनुदित हुँदैछ, अब अलमल गर्नुपर्ने केही छैन”, मन्त्री बाँस्कोटाले भने, ‘श्रम संस्कृतिमा ह्रास आइरहेको भन्दै पढ्नु भनेको निर्देशक बन्ने मात्र होइन’। मन्त्री बाँस्कोटाले हरेक नेपाली श्रम र उत्पादनसँग जोडिनुपर्ने धारणा राखे । मन्त्रीलाई पनि अब भाषण गर्दै हिँड्ने फुर्सद नमिल्ने भन्दै उनले भने, “मन्त्रीले प्रधानमन्त्रीसँग र सचिवले मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।”

प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले समृद्धिकै लागि सङ्घीय प्रणाली ल्याइएको बताए । ठूला र राष्ट्रिय महत्वका आयोजना अगाडि बढेको भन्दै केही वर्षभित्रै विकासले फड्को मार्ने उनको भनाइ छ । सरकारले केही गर्न खोज्यो कि स्वार्थ समूह विरोधमा आउने प्रवृत्ति गलत भएको उनको टिप्पणी छ ।

प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सङ्घीयता कार्यान्वयनसँगै मुलुक विकास र समृद्धिको लक्ष्यमा अघि बढेको बताए । “यो कसैले भनेर ल्याएको सङ्घीयता होइन, हाम्रै विशेषताअनुसार हामीले नै ल्याएको हो, सफल भएरै छोड्छ ।”

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले तीन तहका सरकारबीच समन्वयको खाँचो औँल्याए । “स्थानीय तहमा सबैभन्दा ठूलो कर्मचारी व्यवस्थापनको समस्या छ”, उनले भने, “बजेट र अधिकार क्षेत्रमा पनि केही अन्योल देखापरेका छन् ।” प्रमुख पौडेलले सङ्घीयतापछि खारेज भएका जिल्ला कार्यालयहरु पुनःस्थापना भइरहेको उल्लेख गरे । “पचास हजार÷लाखका कार्यक्रम सङ्घ, प्रदेशबाटै आउने भएपछि स्थानीय तह किन चाहियो ?” उनले भने ।

नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगरले समतामूलक समाज निर्माणका लागि सङ्घीयता आएको बताए । “समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त सङ्घीयताको आधार हो”, उनले भने ।

पत्रिकाले वार्षिकोत्सवका अवसरमा ‘सङ्घीयतामा समृद्धि’ शीर्षकमा विशेषाङ्कसमेत प्रकाशन गरेको छ । उक्त अङ्कमा समृद्धिका मुद्दाबारे विभिन्न क्षेत्रका व्यक्तिका लेख समावेश गरिएको छ । विसं २०६० सालमा बागलुङदेखि प्रकाशन शुरु गरेको ढोरपाटन दैनिक हालै मात्र गण्डकी प्रदेश राजधानी पोखराबाट प्रकाशन तथा वितरण हुन थालेको छ ।

वार्षिकोत्सवका अवसरमा विसं २००८ मा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’ का सम्पादक एवं समाजसेवी ओमकार गौचनलाई सम्मान गरिएको थियो । स्तम्भकार, उत्कृष्ट कर्मचारी र विज्ञापनदातालाई पुरस्कृत गरिएको थियो ।