समाचार

पत्रकार महासङ्घद्वारा पत्रकार अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले रुपन्देही शाखाका सदस्य डायलसन अधिकारीको सवारी दुर्घटनामा परी निधन भएको दुःखद खबरले स्तब्ध बनाएको जनाएको छ ।

महासङ्घले आज एक विज्ञप्तिमार्फत स्व अधिकारीप्रति श्रद्घाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित समवेदना व्यक्त गरेका छन् ।

कामको सिलसिलमा रुपन्देहीबाट विराटनगरतर्फ जाँदै गर्दा ४२ वर्षीय अधिकारी चढेको बा१६च २२३५ नंको जीप सप्तरीको कच्नरुप गाउँपालिकामा शनिबार दुर्घटना उनको निधन भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी बासिन्दा पत्रकार अधिकारीका श्रीमती, एक छोरा र एक छोरी छन् ।

लामो समयदेखि रुपन्देहीमा पत्रकारिता गर्दै आएका पत्रकार अधिकारीले रेडियो नमस्तेको स्थापनाकालदेखि नै स्टेशन प्रमुखका रुपमा काम गरेका महासङ्घले जनाएको छ ।

पछिल्लो समय आफ्नै सक्रियतामा ई–लगन न्यूज डटकम सञ्चालन गर्दै आउनुभएका पत्रकार अधिकारी रेडियो नेपालको स्थानीय संवाददाता थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ ।