प्रदेश 1

विश्वविद्यालयबाट ‘उत्पादित जनशक्ति विश्वभरका लागि क्षमतावान’हुने: मन्त्री घिमिरे

विराटनगर । प्रदेश नं– १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मनमोहन प्राविधि विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वभरि क्षमतावान भएर उभिनसक्ने बताएका छन् ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफल आज समाप्त भएपछि उठेका प्रश्नको जवाफको क्रममा उनले विश्वविद्यालयबाट आधारभूत, माध्यमिक र उच्च जनशक्ति उत्पादन हुने जानकारी दिँदै नेपालको संविधान २०७२ को क्षेत्राधिकारबाट नै यो विश्वविद्यालय स्थापना गर्न लागेको स्पष्ट पारे ।

उनले सो विश्वविद्यालय राजनीतिक आग्रह वा पूर्वाग्रहबाट नभइ प्रचलित ऐन र कानूनबाट सञ्चालन हुने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गरे । भौत्तिक सम्पति र मानवीय संशोधनले भरिपूर्ण रहेको मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालय बनाउन लागेकामा गर्वको अनुभूति भइरहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री घिमिरेले विश्वविद्यालयलाई साझेदारीमा सञ्चालन गरिने बताए ।

सो विधेयकमा सदस्य खिनु लाङ्बा लिम्बू, चुमनारायण तवदार, नवोदिता चौधरी, राजकुमार ओझा, वीणदेवी राई र सावित्राकुमारी रेग्मीले विश्वविद्यालयका विविध पक्षमा चर्चा गरेका थिए ।

विशेष समय

सदस्य उषाकला राईले नेपालको संविधानको भावना र मर्मअनुसार सत्तापक्ष र प्रतिपक्ष चल्नुपर्ने भन्दै सबै प्रकारका विभेद्, भ्रष्टाचार र एकात्मक सोचलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

शून्य समय

सदस्य अम्बिका थापाले डेङ्गु रोगको उपचार प्रदेश सरकारले निःशुल्क गरिने भने पनि पहिचानमै धेरै खर्च गर्नुपर्ने भएकाले यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराइन्। सदस्य विन्दिया कार्कीले इन्धनको भण्डारणको क्षमता बढाउन सरकारको ध्यानाकर्षण गराइन् । प्रदेशसभाको अर्को बैठक यही भदौ २ गते दिउँसो १ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।