अन्तर्राष्ट्रिय

गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए

गाजा सिटी – उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजापट्टीबाट तीन वटा क्षेप्यास्त्र प्रहार भएको केही घण्टापछि नै इजरायली सेनाले गरेको कारबाहीमा तीन प्यालेस्टिनीको ज्यान गएको हो ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अर्का एक प्यालेस्टिनी सख्त घाइते अवस्थामा अस्पतालमा उपचार गराइरहेको जनाएको छ । इजरायली सेनाले हेलिकप्टर र ट्याँकको सहायताले गाजा–इजरायल छुट्याउने सीमानजिक शंकास्पद आक्रमणकारीमाथि कारबाही गरेको जनाएको छ ।

इजरायली सेनाले गरेको ट्वीटमा इजरायली तारबार लगाइएको क्षेत्रमा गाजाबाट शंकास्पद व्यक्तिहरु आएको सूचना पाएपछि कारबाही गरिएको जनाएको छ ।

हमास प्रशासित गाजापट्टीमा प्यालेस्टिनीहरुले दक्षिण इजरायलमा गत शनिबार तीनवटा क्षेप्यास्त्र आक्रमण गरेपछि पछिल्लो हिंसा भड्किएको हो ।

सन् २०१८ मार्चदेखि चौतर्फी घेराबन्दीमा परेको गाजापट्टीमा नियमितझैं प्रदर्शन र झडप भइरहेका छन् । त्यसयता गाजामा इजरायली कारबाहीमा कम्तीमा ३०५ जनाको मृत्यु भइसकेको छ । यी झडपमा सात जना इजरायलीको पनि ज्यान गएको छ ।