बाग्मती

सडकको दूरावस्थाः यातायात सञ्चालनमा कठिन

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीको सडकको दूरावस्थाका कारण त्यहाँ सञ्चालन हुने बस तथा कन्टेनरलाई समस्या भएको छ । नागरिक समाजका अनुसार धुञ्चेदेखि उत्तरी क्षेत्र खोपाङ भिर क्षेत्रका सडक दिनानुदिन जीर्ण हुँदै गएको छ । हिलोमा सवारीसाधनका चक्का गाडिएर एउटा मोटर पार गर्न घण्टौँ लाग्ने गरेको छ ।

डिभिजन सडक कार्यालयले मेशिन उपकरण प्रयोग गरेको भनिए पनि भएका उपकरणले हिलो सडकमा थप हिलो मात्र बनाउने काम भइरहेकाले ग्राभेल ढुङ्गाको व्यवस्था गर्न स्थानीयवासीले आग्रह गरेका छन् ।

पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने उक्त सडक सुधारका लागि गत साउन महीनामा सडक विभागअन्तर्गत उपकरण महाशाखाबाट रसुवा पठाइए पनि ती उपकरण अफिस समयमा मात्र गुड्ने र भन्सार शुल्क तिरेर आएका सिलबन्दी मालबाहक कन्टेनर डिब्बा सधैँ हिलो पार गर्न नसकेर हैरानी हुने गरेको चालकको गुनासो छ ।

राजमार्गको खोपाङ भिरका सतह बढी हिलो भएकाले ग्राभेलका लागि डिभिजन सडक कार्यालय नुवाकोटमा ताकेता भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले सडकको व्यवस्थापनका लागि ग्राभेल व्यवस्थापनमा गाउँपालिकाले समेत सहयोग कार्य अगाडि बढाएको जानकारी दिए ।