आर्थिक

कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व

रुकुमपूर्व । जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न सकेका छैनन् ।

रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको हो । रु ३६ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने लक्ष लिएकोमा सिस्ने गाउँपालिकाले रु ७५ लाख ६ हजार ६०० राजश्व सङ्कलन गरेको जनाएको छ ।

गाउँपालिकाले लक्ष्यभन्दा १०४ प्रतिशत बढी राजश्व उठाएको प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले जानकारी दिए । गाउँपालिकाका विभिन्न वडाबाट गरी रु ३७ लाख पाँच हजार ८० सङ्कलन भएको छ ।

गत आर्थिक वर्षमा बालुवा, जडीबुटी, मालपोत कार्यालयबाट राम्रो राजश्व सङ्कलन गर्न सफल भएकोले गाउँपालिकाले दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा बढाएर रु ७८ लाख राजश्व सङ्कलन गर्ने लक्ष राखेको पनि उनले जानकारी दिईन् ।

गतवर्ष सङ्कलित राजश्वलाई हेरेर चालु आर्थिक वर्षको लक्ष्य तय गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले वर्षेनी राजश्व सङ्कलनलाई बढाउँदै लगेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४।७५ मा १८ लाख ३० हजार २९४ राजश्व सङ्कलन गरेको थियो ।

पुथा उत्तरगङ्गा गाउँपालिकाले अर्थिक वर्ष २०७५।७६ मा लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको पाइएको हो । रु एक करोड ८ लाख राजश्व उठाउने लक्ष्य राखेको गाउँपालिकाले जम्मा रु ४५ लाख मात्र राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले राजश्वको प्रमुख स्रोतका रूपमा यार्सागुम्बालाई लिएको थियो तर, यार्सागुम्बाबाट राजश्व सङ्कलन हुन नसक्दा लक्ष्यअनुरूप राजश्व सङ्कलन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाथोकीले बताए ।

गत वर्षमा लक्ष्यअनुरूप राजश्व सङ्कलन हुन नसकेपछि चालु आर्थिक वर्षमा गाउँपालिकाले राजश्वको लक्ष्य ह्वात्तै घटाएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले यार्सालाई राजश्वको स्रोतबाट हटाउँदै रु ५० लाखको मात्र लक्ष लिएको छ ।

त्यसैगरी भूमे गाउँपालिकाले गत आर्थिक वर्ष २०७५।७६ मा ४५ लाख ३० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ४३ लाख ५३ हजार राजश्व सङ्कलन गर्न सफल भएको छ । गाउँपालिका लक्ष्यको ९६ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले प्राकृतिक स्रोतसाधनबाट कम राजश्व उठेको बताएको छ । सेवा शुल्क, घरबहाल कर, सिफारिस दस्तुर र मालपोत नै राजश्वका प्रमुख स्रोत भएको प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बढाएर राजश्व रु ४९ लाख २४ हजारको लक्ष्य लिएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । कर प्रणालीमा सुधार गर्न सकेमा चालु आर्थिक वर्षमा केही सुधार हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।

यतिमात्र नभएर चालु आर्थिक वर्षमा व्यवसाय रजिष्ट्रेशन र नवीकरण, घर बहाल करमा राजश्व बढ्ने अनुमान गरिएको प्रशासकीय प्रमुख श्रेष्ठले बताए ।