समाचार

बाढीपहिरोसम्बन्धी दीर्घकालीन समाधान खोज्न सांसदहरुको सरकारसँग माग

काठमाडौँ । प्रतिनिधिसभाका संसादहरुले बाढीपहिरोको समस्यालाई टालटुल मात्रै गर्नेभन्दा पनि स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले हरेक वर्ष आउने बाढी र पहिराका कारण गरीब जनताको जनधनको ठूलो क्षति भएको भन्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।

सांसद उमा रेग्मीले सुगौली सन्धिलगायतका सन्धिको सक्कलप्रति नेपालमा नभएको सुन्नमा आएको छ भन्दै त्यसको वास्तविकताबारे सरकारको जवाफ माग गरिन् । “नेपालीको हातमा जग्गा छ तर लालपूर्जा भारतमा छ, यस्तो किन हुन्छ ?, भारतसँगको सिमानामा समस्या छ, त्यसको सरकारले दीर्घकालीन समाधान किन खोज्न सकिरहेको छैन ?”, उनले प्रश्न गरिन् ।

सांसद देवप्रसाद गुरुङले सैन्य आदातलसम्बन्धी ऐनमा भएको व्यवस्थालाई संशोधन गर्नुपर्ने माग गरे । सांसद डा मीनेन्द्रप्रसाद रिजालले आर्थिक वृद्धिका बारेमा हल्का टिप्पणी नगर्न सरकारसँग आग्रह गरे । सांसद अनिलकुमार झाले बाढीका कारण तराईका जनताको जनधनको क्षतिबारे पटकपटक ध्यानाकर्षण गराउँदासमेत सरकारले बेवास्ता गरेको भन्दै गुनासो गरे ।

“असारको अन्तिम साता बाढीका कारण मधेशमा ठूलो जनधनको क्षति भयो तर बाढी पहिरोका बारेमा पटकपटक कुरा राख्दासमेत दीर्घकालीन समाधान खोजिएको छैन, सरकारले वितरण गरेको राहत पनि एकपक्षीय भएको छ, फितलो भएको छ, यसबारेमा सरकारको ध्यानाकर्षण होस्”, उनले भने । सांसद उमाशङ्कर अरगरियाले कूल जनसङ्ख्याको १२ प्रतिशत मैथिली भाषा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हटाइएको भन्दै आपत्ति जनाए ।

सांसदद्वय प्रेम सुवाल र गोपालबहादुर बमले विभिन्न स्थानमा भारतले लगाएको तटबन्ध हटाउनका लागि पहल गर्न सरकारसँग आग्रह गरे । सांसद प्रदीप यादवले प्रक्रिया पूरा गरेका नेपाली नागरिकलाई राज्यले नागरिक प्रदान गर्नुपर्छ भने ।

सांसद मोतीलाल दुगडले मुलुक निर्माणमा योगदान पुर्‍याउँदै आएको मारवाडी समुदायलाई राज्यले बेवास्ता गरेको भन्दै गुनासो गरे । सांसद प्रकाश रसाइली स्नेहीले देशमा विभिन्न स्थानमा अवैधानिकरूपमा भएको बालुवा उत्खनन रोक्नुपर्नेमा जोड दिए ।