गण्डकी प्रदेश

जनगायक शर्मालाई तनहुँमा सम्मान

दमौली। प्रगतिशील लेखक सङ्घ तनहुँले वरिष्ठ जनगायक जीवन शर्मालाई सम्मान गरेको छ । शनिबार दमौलीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले जनगायक शर्मालाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य कोइरालाले गायक शर्माले जनताको पक्षमा गीत गाएर नै निरंशुकतामाथि प्रहार गरेको बताए । नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कम्युनिष्ट पार्टीका कार्यकर्तामा अध्ययनको कमी भएको भन्दै समाजवादको यात्रामा जान पनि पहिला अध्ययनशील बन्नुपर्ने र विश्वका इतिहासहरुको बारेमा जानकारी राख्नुपर्ने बताए ।

जनगायक शर्माले जीवनको लामो कालखण्डमा निरंकुशताविरुद्धको आन्दोलनमा गीत–सङ्गीतले राम्रो प्रभाव पारेको बताए । सो अवसरमा न्यौपानेले लेखेको सङ्घर्षको इतिहास नामक पुस्तकमाथि वाम बुद्धिजीविहरु शेषमणि आचार्य र डम्बरदेव कैनीले परिचर्चा गरेका थिए ।