गण्डकी प्रदेश

युवा परिषद्का सदस्यलाई प्रशिक्षण,४० भन्दा बढी सदस्यको सहभागि

दमौली । तनहुँको व्यास नगरपालिकामा गठन भएको युवा परिषद्का सदस्यलाई प्रशिक्षण प्रदान गरिएको छ । व्यास नगरपालिकाले विभिन्न क्षेत्रलाई समेटेर गठन गरेको युवा परिषद्का सदस्यलाई प्रशिक्षण प्रदान गरिएको हो ।

शनिबारदेखि शुरु प्रशिक्षणको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकालाई युवामैत्री बनाउने प्रयास गरिएको बताए । न्यौपानेले प्रत्येक यात्रामा युवालाई सक्रिय बनाउने, अभ्यस्त बनाउने र सम्भावना बोकेका युवालाई नगरपालिकाको विकासमा प्रयोग गर्ने उद्देश्यसहित नगरपालिकाले युवामैत्री कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

युवा अभियन्ता अपार पौडेलले युवाहरु सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । अहिलेका युवापुस्ता शतप्रतिशत सकारात्मक हुनुपर्नेमा जोड दिँदै पौडेलले देश कस्तो बनाउने भन्ने जिम्मेवारी युवाको काँधमा आएको बताए । युवा परिषद्का सदस्यलाई प्रशिक्षणमार्फत क्षमतावान बनाउने उद्देश्यले नगरपालिकाले दुईदिने अभिमुखीकरणको आयोजना गरेको व्यास नगरपालिका शिक्षा तथा युवा शाखा प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिए ।

युवा परिषद्का सदस्य सुनिता आचार्यले प्रशिक्षणपश्चात आफूहरुको क्षमता अभिवृद्धि हुनुको साथै नगरपालिकाको विकासमा आफूहरुले गर्न सक्ने सहयोगको बारेमा छलफल गरिने जानकारी दिइन् । आइतबारसम्म चल्ने अभिमुखीकरणमा परिषद्का ४० भन्दा बढी सदस्यको सहभागिता छ । प्रशिक्षणमा राष्ट्रियधावक मीरा राई, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतले आ–आफ्नो अनुभव आदानप्रदान गर्नुहुने कार्यक्रम रहेको छ ।