लुम्बिनी

बागेश्वरी मन्दिरलाई व्यवस्थित गरिँदै

नेपालगञ्ज । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई सुविधा सम्पन्न तथा व्यवस्थित गर्न लागिएको छ ।

प्रदेश सरकार र विभिन्न धर्मावलम्बीको सहयोगमा मन्दिर परिसरमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तल्लामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्न लागेको मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले बताए ।

यसका लागि अव्यवस्थितरुपमा रहेको मन्दिर क्षेत्रको बाहिरी १७ वटा पसल सटरलाई भत्काएर नयाँ बनाउन लागिएको छ । नेपालगञ्जको मध्यभागमा रहेको यो मन्दिर आऊजाऊ गर्ने दुई बाटोमध्ये पश्चिमतर्पmको साँघुरो बाटोलाई नयाँ र फराकिलो बनाइँदैछ भने बाटोको दुवै छेउमा ठेला र घुम्ती पसललाई त्यहाँबाट हटाउन लागिएको सचिव अधिकारीले बताए ।

उनका अनुसार, मन्दिर क्षेत्रको नियमित सरसफाइदेखि अन्य भौतिक पूर्वाधार निर्माणका लागि पनि समितिले योजना निर्माण गरेको छ । बागेश्वरी मन्दिरमा विशेषतः बाँकेलगायत बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन दर्शन गर्न आउने गर्दछन् । माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास छ । यो मन्दिरमा दशैँको अष्टमी र नवमीका दिन पशु बलि दिने परम्परा पनि रहिआएको छ ।

सतिदेवीको जिब्रो पतन भएको स्थानमा बागेश्वरी मन्दिर स्थापना भएको हो । “माता बागेश्वरीको श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेको मनोकामना पूरा हुँदै आएको छ”, मन्दिरका मूल महन्त चन्द्रनाथ योगी बताउछन् ।

वागेश्वरी मन्दिरमा विशेष सङ्कल्प गर्ने भक्तजनले तोकिएको समयमा वागेश्वरी माताको खुला दर्शन गर्न पाउने व्यवस्था पनि मन्दिर व्यवस्थापन समितिले गरेको छ ।