प्रदेश 1

जनताको अपेक्षाअनुरुप विकास निर्माणले फड्को मार्नेछ: मन्त्री आङ्बो

मिक्लाजुङ । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपाका नेता इन्द्रबहादुर आङ्बो मौसमले अब जनताको अपेक्षाअनुरुप विकास निर्माणले फड्को मार्ने बताएका छन् ।

पाँचथरको सदरमुकाम फिदिममा आज नेकपा पाटी पाँचथरले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पहिलो वर्ष संविधान कार्यान्वयन, समृद्धि र विकासको निम्ति आधार वर्षको रुपमा व्यतीत भएको र दोस्रो वर्ष जनताको अपेक्षाअनुरुप विकास निर्माणको कामलाई अघि बढाउने बताए ।

प्रदेश नम्बर १ मा ठूलाठूला आयोजना पनि सञ्चालन हुन लागेको र ती योजनालाई पनि समयमै सम्पन्न गर्ने गरी प्रदेश सरकार लागि परेको उनले उल्लेख गरे । उनले पाँचथरमा अबको दुई वर्षभित्र सबै गाउँगाउँमा विद्युतीकरण गरेर जिल्लालाई उज्यालो जिल्ला बनाउने बताए ।

यस्तै उनले जिल्लाको फालेलुङ गाउँपालिकामा केही वर्ष अघि पहिरोबाट विस्थापित भएका परिवारलाई एकीकृत बस्ती निर्माण गरेको र अब यस वर्ष याङ्वरक गाउँपालिकाका पहिरोपीडितलाई पनि उनीहरुले भनेकै स्थानमा गएर एकीकृत बस्ती विकास प्रदेश सरकारले गरी दिने बताए । यस्तै सोही कार्यक्रममा राप्रपाका नेता सुरेश शाहलगायत आधा दर्जन व्यक्ति नेकपा पाटीमा प्रवेश गरेका छन् ।