समाचार

नेपाल र थाइल्याण्डबीच ६०औँ वर्षको कूटनीतिक सम्बन्ध: चौथो थाई शैक्षिक मेला

काठमााडौँ । नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राजधानीमा चौथो थाई शैक्षिक मेला प्रारम्भ भएको छ ।

गुणस्तरीय शिक्षाका निम्ति दक्षिण पूर्वी एशियामा ख्याति कमाएका थाइल्याण्डका आठवटा विश्वविद्यालयले भाग लिएको एक दिवसीय शैक्षिक मेलाको परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि थाइल्याण्डका राजदूत भाकभत तान्सकुलले संयुक्तरुपमा उद्घाटन गरे ।

त्यस अवसरमा सचिव वैरागीले नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्ध छ दशक पुरानो भए पनि बौद्ध शिक्षाका माध्यमबाट दुई देशका नागरिक सयौँवर्षअघिदेखि एकापसमा अति निकट रहेका बताए ।

उच्च शिक्षा हासिल गर्न थाइल्याण्ड गएका केही नेपाली विद्यार्थी त्यहाँ ठगिएको हालैको एउटा घटनातर्फ लक्ष्यित गर्दै उनले सही सूचनाको अभाव एवं शैक्षिक प्रतिष्ठानको आधिकारिकता र गुणस्तरको गहन विश्लेषणबिना विद्यार्थी भर्ना हुँदा त्यस्तो समस्या उत्पन्न भएको आशङ्का गरे ।

राजदूत तान्सकुलले थाइल्याण्ड र नेपालबीचको सम्बन्धलाई धर्म, संस्कृतिका साथै आर्थिक एवं पर्यटकीय विषयले मजबुत बनाएको चर्चा गदै दुई देशका जनतालाई नजिक ल्याउने अर्को माध्यम शिक्षा हो भने ।

उनले थाइल्याण्डमा खाना, आवास र यातायातजस्ता आधारभूत आवश्यकता अधिक महङ्गा नभएकाले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि आफ्नो देश आकर्षक गन्तव्य बन्नसक्ने बताए ।

मेलामा सहभागी विश्वविद्यालयका प्रतिनिधिले केही नेपाली विद्यार्थीलाई पूर्ण र केहीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए । हाल थाइल्याण्डमा करीब पाँचसय नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरिरहेका बताइएको छ ।