गण्डकी प्रदेश

अवरुद्ध पुष्पलाल लोकमार्ग मङ्गलबारदेखि खुल्ने

बागलुङ । बाढीले क्षति पुर्‍याउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार (भदौ ३ गते)देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पुर्‍याउँदा १३ दिनदेखि लोकमार्ग ठप्प रहेको छ ।

तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २०० मिटर लोकमार्ग बगाएपछि यातायात सेवा प्रभावित बनेको हो । पहिलेको भन्दा दश मिटर माथिबाट अस्थायी मार्ग खोल्ने काम भइरहेको आयोजना व्यवस्थापनले जनाएको छ ।

“ग्रेड मिलाउने र फिलिङ गर्ने काम भइरहेको छ, भदौ ३ गतेदेखि लोकमार्ग नियमित सञ्चालनमा आउँछ”, लोकमार्गका इञ्जिनीयर अर्जुन गौतमले भने । शुक्रबार साँझदेखि एम्बुलेन्स र अत्यावश्यक सेवामा चल्ने साना सवारीसाधन मात्र एकतर्फी रुपमा चल्न दिइएको उनको भनाइ छ ।

निर्माणको काम बाँकी नै रहेको र वर्षात्का कारण जोखिम भएकाले तत्काल नियमित यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको जनाइएको छ । ‘ब्रेकर’ लगाएर पहरा काट्नुपर्ने भएकाले मार्ग खोल्न समय लागेको हो । दुई सातासम्म लोकमार्ग नखुल्दा सदरमुकामदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ ।

पश्चिमको व्यापारिक केन्द्र बुर्तिबाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन चल्न सकेका छैनन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फ पनि यातायात ठप्प छ । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडिगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् ।

बुर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरेनजिक आएर रोकिन्छन् । अवरुद्ध भएको ठाउँ पैदल पार गरेपछि यात्रु गाडी बदलेर गन्तव्यतर्फ लाग्ने गरेका छन् । यात्रु बोक्ने सवारीसाधन वारिपारि भएर चले पनि खाद्यान्न र निर्माण सामग्रीको ढुवानी भने ठप्पै छ ।

“पैदल बाटो पनि साह्रै जोखिमयुक्त छ”, स्थानीयवासी निदेश शर्माले भने, “बिरामी, ज्येष्ठ नागरिक र अशक्तलाई साह्रै सास्ती छ ।” अत्यावश्यक सेवाका साना सवारीसाधन आउजाउ गर्न थालेपछि स्थानीयवासी खुशी छन् ।

अहिले अस्थायी मार्ग खोल्ने र पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ । लोकमार्ग पुरानै अवस्थामा फर्काउन भने समय लाग्ने देखिन्छ । “नाम, निसानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ”, इञ्जिनीयर गौतमले भने । गत वर्ष पनि त्यही ठाउँमा गएको पहिरोले लामो समय लोकमार्ग अवरुद्ध पारेको थियो ।

सोही पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमि क्षेत्रफलमा ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले घोपर्नाबाट तुरतुरे जोड्ने अर्को वैकल्पिक मार्ग सञ्चालनका लागि पनि प्रयास भइरहेको बताए ।