समाचार

लामिछानेसहित तीन जनालाई पाँच दिन म्याद थप

भरतपुर । चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरेको हो । अदालतले पूर्व सहकर्मी सालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

प्रहरीले लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराइएको थियो । लामिछानेलगायत तीन जनाको पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेल, चुणामणि सापकोटासहित तीन वकिलले बहस गरेका छन् । तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने बताइएको छ । कानूनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ ।

माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीनै जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको हो । लामिछानेका समर्थकले आज दिनभर जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत परिसरमा प्रर्दशन गरेका छन् । उनीहरुले लामिछानेको यथाशीघ्र रिहाइको माग गरेका छन् । लामिछाने र कँडेललाई न्यूज २४ को कार्यालयबाट तथा कार्कीलाई काठमाडौँको कलङ्ङकीबाट बिहीबार साँझ पक्राउ गरिएको थियो ।