पर्यटन/संस्कृति

रथयात्राका लागि भव्य तयारी, हेलिकप्टरबाट पुष्पअर्पण गर्ने व्यवस्था

विराटनगर । भगवान् राधाकृष्णको रथयात्राका लागि यहाँ भव्य तयारी भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ७ गते अपराह्न निस्कने यस वर्षको रथयात्रामा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निकालिने रथ यात्राले विराटनगर महानगरपालिको विभिन्न ठाउँ परिक्रमा गर्ने भएको छ । सो रथ तान्न हजारौँ सङ्ख्याका युवायुवती झुम्मिने गर्दछन् । मन्दिर परिसरबाट युगल मूर्तिलाई रथमा विराजमान गराइ गरिने राथयात्राका लागि नगर क्षेत्रका अधुरा सडक व्यवस्थित गर्न महानगरपालिका लागिपरेको छ ।

रथयात्राको मार्गमा पर्ने सडकको दुवै पेटीमा हजारौँ श्रद्धालुका साथै आ–आफ्ना भवनको छत र कौशीबाट पनि रथमाथि पूmल तथा जलअर्पण गर्ने गरिन्छ । रथयात्रामा विभिन्न मन्दिर एवं धार्मिक संस्थाका रथ र कलशयात्राका साथै दर्जनौँ संस्कृतिक झाँकी र नाचका टोलीलगायत श्रद्धालु भक्तजन पनि सहभागी हुने गर्दछन् । भक्तजनलाई विभिन्न ठाउँमा सङ्घसंस्था र क्लबले निःशुल्क चिसो पेय पदार्थ वितरण गर्ने गर्दछन् ।

मोरङ, झापा र सुनसरीका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत गरी हजारौँ श्रद्धालु भक्तजन रथयात्रामा सहभागी हुन आउने भएकाले तीनको सुरक्षाको व्यवस्था पनि मिलाइने भएको छ । विसं १९८८ देखि राधाकृष्णलाई खटमा राखी घुमाउने गरिएका विसं २०२५ देखि रथयात्राको रुपमा परिणत गरिएको थियो ।