शिक्षा

बुढेसकालमा ‘अधिवक्ता’ बन्ने इच्छा बोकेका ७२ वर्षे वली

बाँके । नाति–नातिनासँग रमाउने उमेरमा बलभद्र वलीलाई अधिवक्ता बन्ने रहरले दाङबाट नेपालगञ्ज पुर्‍याएको छ । कालोकोट लगाएर अदालतमा बहस गर्ने तीव्र इच्छाले ७२ वर्षे वलीलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पससम्म पुर्‍याएको हो ।

महेन्द्र बहुमुखी क्याम्पसबाटै विसं २०७२ मा स्नातक गर्नुभएका वलीले दाङबाटै विसं २०७४ मा स्नातकोत्तर गरिसकेका थिए । दाङको बबई गाउँपालिका–३ रामपुर (घट्टेखोला) का वली गत मङ्सिरमा नेपालगञ्ज आएर क्याम्पस भर्ना भएका थिए । उनी कक्षाकै जोशिला विद्यार्थीमा गनिन्छन् ।

भर्ना हुने क्रममा क्याम्पस प्रशासनले नियमित पढाइ हुन कम्तीमा १० विद्यार्थी उपस्थित हुनुपर्ने जानकारी वलीलाई दिएपछि नियमित कक्षा लिन चुनौती थपियो । उनले नयाँ उपाय सोच्दै भर्ना भएका सबैको नाम र फोन नम्बर टिपेर क्याम्पसबाट निस्किए । कक्षामा पढ्न नआए पनि एलएलबीमा भर्ना हुने विद्यार्थीको सङ्ख्या एक हजार १८८ थियो ।

उनले भने, “कोठामा आएर सबैलाई फोन गरे । नियमित कक्षा लिन आउनुप¥यो भने । प्रायः सबै जागिरे रहेछन् । नजिक–नजिक भएकाले आउँछु भने । केही आए पनि । मेरै पहलमा अहिले तीन महीनादेखि क्याम्पसमा एलएलबीको कक्षा नियमित चलेको छ ।” वलीले कक्षा लिन आएका विद्यार्थीको उपस्थिति पनि गराउँदै आएका छन् ।

“हालसम्म ९७ विद्यार्थीले कक्षा लिएका छन”, वली भन्छन्, “कक्षामा दैनिक ५० जनाको हाराहारीमा उपस्थिति हुने गरेको छ ।” वलीले अहिलेसम्म कक्षा छोडेका छैनन् । वलीकै कारण महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा १५ वर्षपछि कानून सङ्कायको कक्षा चलेको छ । यसअघि विद्यार्थी त भर्ना हुन्थे, पढ्न आउँथेनन् । परीक्षा दिनमात्रै आउँथे । तर अहिले वलीले कुनै शिक्षक पढाउन आएनन् भने फोन गरेर ‘किन नआएको’ भनेर प्रश्न गर्छन् ।

क्याम्पसमा कार्यविधि कानून पढाउने लोकबहादुर शाह भन्छन्, “हजुरबा उमेरका वलीको अनुशासन लोभलाग्दो छ । ७२ वर्षका व्यक्तिको पढ्ने जाँगर देख्दा हामीलाई पनि जोश पैदा गरेको छ ।”

शाहका अनुसार, वली कक्षामा अनुशासित तरिकाले बस्ने, उठेर मर्यादित तरिकाले प्रश्न गर्ने गर्छन् । नेपालगञ्जमा कोठा भाडामा लिएर पढ्न बसेका वलीलाई घरपरिवारले बुढेसकालमा किन दुःख गरेको भनेर कराउँछन् । “छोरी अधिवक्ता नै छन् । किन दुःख गर्नुपर्‍यो बुबा भनेर सम्झाँउछिन् । छोरा लेखनदास छन् । बेकारमा किन पढ्नुप¥यो भन्छन्”, वलीले भने ।

पढाइमै ध्याउन्न भएकै कारण ७२ वर्षे वली बिहान ४ बजे उठेर क्याम्पस जानका लागि तयारी शुरु गर्छन् । “बिहान ६ बजेको कक्षा नछुटोस् भनेर मोबाइलमा चार बजेको घण्टी लगाएको छु । अब त बानी भइसक्यो, घण्टी नबज्दै ब्युुझिहाल्छु”, वलीले भने । उनी अरु युवा विद्यार्थीभन्दा पहिले नै कक्षा कोठामा पुगिसक्छन्।

“जुवातास खेलेर गाउँमा समय फाल्नुभन्दा ज्ञानका लागि पढ्नु राम्रो होइन र ? हामीजस्ता बुढाले पढ्दा युवाहरुमा पनि जोश जाँगर आउँला नि ।” प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म भइसकेका वलीको ध्यान राजनीतिभन्दा पढाइतिर धेरै छ । “राजनीतिमा सक्रिय हुन्न, पढाइतिरै लागेको छु । पढाइ सकेर वकालत गर्ने धोको छ”, उनले भने ।

राजनीतिमा वलीको अस्थिरता

विसं २०२३ मा लोकसेवा आयोगको कार्यालयमा कार्यालय सहयोगी भएका वली विसं २०२४ मा मालपोत कार्यालयमा अस्थायी बैदार भए । २०२५ मा लोकसेवाबाट बैदारमा नाम निकालेर अदालतमा काम थाले । त्यसबेला छ महीना तत्कालीन भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा मुखिया भएर काम गरे ।

विसं २०२७ देखि २०४२ सम्म शिक्षक रहनुभएका वली त्यसपछि जागिर छाडेर राजनीतिमा लाने । “विसं २०४३ मा दाङको पुरन्धारा गाउँपञ्चायतको प्रधानपञ्च भएँ । बहुदल आएपछि पार्टीतिर लागेँ”, वलीले भने, “प्रधानपञ्चमा एक हजार ५०० मत ल्याएँ । त्यतिबेला काङ्ग्रेसको जगजगी थियो ।”

नेकपा एमालेबाट २०४९ को पहिलो स्थानीय चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिँदा जम्मा एक हजार मत आयो र हार व्यहोर्नुपर्‍यो । विसं २०५४ मा पुनः गाविस अध्यक्षमा चुनाव लड्नुभएका वली त्यसबेला भने दुई हजार ४०० मत ल्याएर विजयी भए । त्यसपछि भने वली एमाले छाडेर राप्रपातिर हानिए ।

विसं २०६४ को चुनावमा राप्रपाबाट सांसदको उम्मेदवार बनेका वलीको मत क्रमशः घट्दै जान थाल्यो । उनले भने, “दुर्भाग्य, सांसदमा चुनाव लड्दा ५५० मत मात्रै आयो । २०७४ को स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा चुनाव लड्दा झन् १५० मत मात्रै आयो ।” २०७४ को चुनावपछि वली पुनः तत्कालीन एमालेमै फर्किए । “पार्टीले उचित जिम्मेवारी दियो भने राजनीतिमा सक्रिय हुन्छ, नदिए पढाइ पूरा गरेर वकालत गर्छु”, उनले भने ।