सुदूरपश्चिम

स्थानीय तहसँग विपद् व्यवस्थापन योजना छैन– सामान्य समस्यामा पनि सदरमुकाम धाउन बाध्य

बैतडी । बिना लगत अनुमान डोजर लगाएर काटिएका सडकले ठाउँ ठाउँमा पहिरोको त्रास निम्त्याएको छ । जिल्लाका धेरैजसो स्थानमा कच्ची सडकहरुले बस्ती नै खाली गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । विगतमा काटिएका सडकहरु वर्षात्सँगै खोल्सामा परिणत भएका छन् ।

बैतडीका चार वटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार सबैभन्दा बढी मेलौली नगरपालिका जोखिममा रहेको छ । पहिरो मात्रै नभएर अन्य प्रकोपका दृष्टिकोणले पनि मेलौली उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

यस्तै, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र पुरचौंडी नगरपालिका पनि पहिरोको जोखिममा रहेका छन् । ती स्थानीय तहका विभिन्न वडाहरुमा विगतका वर्षहरुमा पहिरोले जनधनको क्षति गरेको थियो । पाटन नगरपालिका बाहेकका सबै स्थानीय तहमा पहिरोको मध्यम जोखिम रहेको विपद् व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको संस्था रेडक्रस बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयको भनाइ छ । पछिल्लो समयमा जथाभावी डोजरले सडक खनेका कारण पनि पहिरोको जोखिम बढ्दै गएको हो । उनले भने – “वर्षात्को समयमा पहिरोको जोखिम बढी भएकाले यो बेला स्थानीय सरकार चनाखो हुनुपर्छ ।”

विपद् व्यवस्थापन योजना छैन

विपद् आइहाल्यो भने तत्काल उद्धार तथा राहतका लागि धाउने सबैभन्दा नजीकका निकाय स्थानीय तह नै हुन् तर, उनीहरुसँग विपद् व्यवस्थापन योजना छैन । जिल्लाका दश वटा स्थानीय तहमध्ये चार वटाले मात्रै विपद् व्यवस्थापन योजना बनाउन सकेका छन् । अन्य स्थानीय तहहरुले विपद् व्यवस्थापन योजना बनाउन सकेका छैनन् ।

स्थानीय तहहरुसँग विपद् व्यवस्थापन योजना नहुँदा सामान्य समस्या लिएर पनि नागरिक सदरमुकाम धाउन बाध्य छन् । प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरेर योजना बनाउनुपर्ने भए पनि बैतडीका छ वटा तहले अझै योजना बनाउन सकेका छैनन् ।

विपद् व्यवस्थापन योजना नहुँदा कार्यविधि बनाएर समस्यामा परेका नागरिकलाई सहयोग गर्ने गरिएको मेलौली नगरपालिकाकाले जनाएको छ । विपद् व्यवस्थापन योजनाको अभावमा समस्या देखापरेकाले योजना बनाउने तयारी भइरहेको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ ।
यस्तै, जिल्लाको सिगास गाउँपालिकाले विपद् व्यवस्थापनका लागि रु १० लाख बजेट विनियोजन गरेको छ र योजना बनाउने तयारी गर्दैछ ।
जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकासँग मात्रै विपद् व्यवस्थापन योजना रहेको छ ।

फुड बैंक स्थापना

विपद्मा परेका नागरिकलाई सहज रुपमा खाद्यवस्तु उपलब्ध गराउन फुड बैंक स्थापना गरिएको छ । विपद्का बेला हुने खाद्य सङ्कट हटाउने उद्देश्यले फुड बैंक स्थापना गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

जिल्ला प्रसासन कार्यालय र उद्योग वाणिज्य सङ्घबीच आपत्कालीन खाद्य आपूर्तिका लागि गरिएको समझदारीअनुसार प्रतिव्यक्ति ३ दिनसम्मलाई पुग्ने गरी खाद्यवस्तुको व्यवस्था गरिने भएको छ जसमा एक किलोग्राम चिउरा, तीन प्याकेट चाउचाउ, दुई पुरिया बिस्कुट, आधा किलोग्राम दालमोठसहितको प्याकेट हुनेछ । पचास जनाभन्दा बढी व्यक्ति विपद्मा परेमा उक्त प्याकेट उपलब्ध हुने जनाइएको छ ।

एक लाख रुपैयाँमा स्थापना गरिएको उक्त फुड बैंकमा चालु आर्थिक वर्षका लागि ५०० व्यक्तिसम्मका लागि खानेकुराको प्रवन्ध गरिने उद्योग वाणिज्य सङ्घ बैतडीले जनाएको छ ।

प्रहरीको टास्क फोर्स गठन

बैतडीमा विपद् जोखिम न्यून गर्न प्रहरीले टास्क फोर्स गठन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीको नेतृत्वमा २५ सदस्यीय र इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक गीन्द्रबहादुर बोगटीको नेतृत्व १५ सदस्यीय टोली गठन गरिएको हो ।

कहीँ कतै विपद्का घटना हुन पुगे त्यसबाट हुने क्षति न्यूनीकरणका लागि यो समूह तत्काल परिचालन हुने पातलीले बताइन् ।
विपद्को समयमा खोज तथा उद्धार गर्ने जनशक्ति तयार गर्ने उद्देश्यले बैतडीमा समुदायका नागरिकलाई तालीम दिइएको छ । बाढी पहिरोको समयमा समुदाय स्तरमा प्रथम उद्धारककर्ता तयार गर्ने उद्देश्यले तीन दिने सामुदायिक खोज तथा उद्धार र आपत्कालीन स्वास्थ्य तालीम दिइएको रेडक्रस बैतडीका कार्यक्रम अधिकृत पाण्डेयले बताए ।

रेडक्रसले युनिसेफको सहयोगमा सञ्चालन गरिरहेको बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत दशरथचन्द नगरपालिकाका प्रत्येक वडाका दुई जनालाई तालीम दिइएको हो ।

तालीममा सामुदायिक खोज उद्धारसँग सम्बन्धित विषयहरु सूचना तथा सञ्चार, जोखिम नक्शाङ्कन, खोज तथा उद्धारको अवधारणा, विपद् व्यवस्थापन, भूकम्पीय प्रतिकार्य, बाढी तथा पहिरो प्रतिकार्य, आगलागीको प्रतिकार्य, खोज तथा उद्धारका विधि, महामारी, झाडापखाला, स्वासप्रश्वास जन्यरोग, कीटजन्य रोगलगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिइएको हो ।

जिल्लाका पाटन–पञ्चेश्वर, सतबाँझ–श्रीभावर, देहीमाण्डौं–गिरेगडा, अनारखोली–कैलपाल, श्रीभावर–हाट, दुदिलाखान–गाँजरी सडकमा सवारी साधन चलाउन निकै समस्या हुने गरेको चालकहरुले बताएका छन् ।

सुर्नया–४ का भानबहादुर महराले भने – “वर्षाका कारण सडक ठाउँठाउँमा भत्किएर यात्रा गर्न निकै डर लाग्छ ।”
महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिकाको चम्तडी, सल्सेना र डिलाशैनी गाउँपालिकाको बांगाबगरमा पहिरोको जोखिम बढेको छ । बांगाबगर प्रत्येक वर्ष वर्षाको समयमा पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको स्थानीयवासी सुरेश श्रेष्ठ बताउछन्