सूचना प्रविधि

टेलिफोनको टावरमा समस्या आएपछि सेवाबाट वञ्चित भएर बस्नुपर्ने बाध्यता

रुकुमपूर्व । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ की सुनिता मगर अपराह्नको ४ बजे फोनमा कुरा गरिरहेकी हुन्छिन् । त्यतिबेला एक्कासी फोनमा कुराकानी बुझिँदैन । हेलोहेलो भन्दाभन्दै फोन कट्छ । एकछिन रिसले चुर परेर फत्फताउछिन् । एउटा गतिलो मोबाइल छैन जतिखेर काम परेको हुन्छ त्यतिखेर फोन बुझिदैन, बिग्रेको थोत्रो, उनले मोबाइललाई दोष दिन्छन् । तर त्यहाँ मोबाइल केही भएको हुँदैन । हुन्छ त केबल नेटवर्कको समस्या । उनको मोबाइलमा टेलिफोनको टावर हुँदैन । कुरा गर्दागर्दै अधुरो रहेको कुराकानीलाई पूरा गर्नका लागि अब उनले अर्को दिनको १० बजे कुर्नुपर्ने हुन्छ ।

भुमे गाउँपालिका वडा नं १ लुकुमका रामकुमार बुढाले पनि फोनमार्फत गर्ने काम ४ बजेभन्दा अगाडि नै गरिसकेका हुन्छन् । सबै काम सधैँ हतारमा किन भनेर सोध्दा उनी भन्छन्, आजको काम आजै छिटो सक्नुपर्छ, नत्र फेरि मोबाइलमा नेटवर्क गयो भने भोलि बिहानको घाम नझुल्किञ्जेलसम्म कुरेर बस्नुपर्छ । सिस्ने गाउँपालिका वडा नं २ की सविना खड्काको समस्या पनि उस्तै छ । उनी भन्छिन्, “साँझको ५ बज्यो भनेजति नै इमरजेन्सी काम किन नपरोस् फोन गर्न पाइने होइन । यस्तो समस्याबाट गुज्रिरहेका उनीहरु त केही उदाहरणीय पात्र मात्र हुन । यस्तो समस्याबाट जिल्लाका हजारौँ नागरिकले वर्षैपिच्छे सास्ती खेपिरहेका छन् ।

रुकुमपूर्वमा हरेक दिनको सूर्यास्तसँगै टेलिफोनको टावर अस्ताउने गरेको छ । जिल्लास्थित अधिकांश ठाउँका टेलिफोन टावर सोलारको ब्याट्रीबाट सञ्चालनमा रहेका छन् । वर्षाको यो समयमा धेरै पानी पर्ने र बादल लागिरहने हुनाले सोलारको ब्याट्री चार्ज हुन पाउँदैनन् । जसले गर्दा दिनको बिहानीसँगै टेलिफोनको टावर आउने र सूर्यास्तसँगै टेलिफोनको टावर पनि हराउने गरेको छ । जसले गर्दा जिल्लाका अधिकांश क्षेत्रका नागरिक सञ्चारको पहुँचबाट टाढा रहेका छन् । जिल्लामा भएका टावरमा विद्युत् आपूर्ति नहुँदा फोन सेवा अवरुद्ध हुने गरेको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको वडा नं २ पेल्मा र भुमे गाउँपालिकाको केन्द्र खाबाङ बगरलगायतका विभिन्न ठाउँमा सदावहार नेपाल टेलिकमको टावरले काम गर्दैन । यस गाउँपालिकाका अधिकांश ठाउँमा स्काइ फोन प्रयोग गरिरहेका छन्, जहाँ विगत सात वर्षदेखि स्काइ फोनले काम चलाउरुपमा काम गरिरहेको छ । भुमे गाउँपालिकामा भने एनसेल फोन प्रयोग गरिरहेका छन् ।

जिल्लास्थित सबै नागरिकले नेपाल टेलिकमको टेलिफोन सेवा प्रयोग गर्न नपाएको उनीहरु बताउँछन् । कतिपय ठाउँका नागरिक भने फोन गर्नकै लागि घरबाट एकदेखि दुई घण्टासम्म हिँडेर फोनले काम गर्ने डाँडामा पुगेर कुरा गर्छन् । विसं २०७४ असोज २० गतेदेखि छुट्टै जिल्लाका रुपमा काम शुरुआत गरेको रुकुमपूर्वमा अहिलेसम्म टेलिकमको शाखा स्थापना हुन सकेको छैन ।

जिल्लामा टेलिकमका कर्मचारी पनि छैनन् । जसले गर्दा बेलाबेलामा बिग्रिँने टावर मर्मत गर्नका लागि कर्मचारी बाहिरबाट ल्याउनुपर्ने हुन्छ । त्यतिञ्जेलसम्म जिल्लावासी टेलिफोन सेवाबाट वञ्चित भएर बस्नुपर्ने बाध्यतामा हुन्छ । वर्षाको समयमा घाम नलाग्ने भएकाले सोलारको ब्याट्रीमा चार्ज हुन नपाउने र त्यसले गर्दा टावरले पनि काम नगर्ने टेलिकमले जनाएको छ ।

टावरमा केही क्षति भयो भने भनेकै समयमा दक्ष जनशक्ति पु¥याउन सकिँदैन । जिल्लामा आवश्यक जनशक्तिको अभाव छ, टावरमा खराबी आएमा जिल्ला बाहिरबाट कर्मचारी ल्याउनुपर्ने बाध्यता रहेको टावर देखवाल गर्ने रामबहादुर विश्वकर्माले बताए।

तीन वटा गाउँपालिका रहेको जिल्लाको यो समस्यालाई समाधान गर्न भन्दै टेलिकमले तीनवटै गाउँपालिकामा टावर निर्माण गर्ने भनिए पनि अहिलेसम्म सिस्ने गाउँपालिका वडा नं २ को सुद्रिमा मात्र टावर निर्माणको काम सम्पन्न भएको सिस्ने गाउँपालिका– २ का वडाध्यक्ष जीवन केसीले बताए । बाँकी अन्य ठाउँमा भने काम शुरु नभएको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।