सुदूरपश्चिम

पोखरीमा पसेको मगर गोहीको उद्धार

लम्की । कैलालीको टीकापुर–७ बेलुवामा पोखरीमा पसेको मगर गोहीको उद्धार गरिएको छ । पथरैया नदीबाट स्थानीय टेकबहादुर मल्लको माछा पोखरीमा पसेको गोहीको प्रहरी र स्थानीय संरक्षणकर्मीले उद्धार गरी पथरैया र काढा नदीको दोभानमा छोडेका छन् ।

पोखरीमा गोही देखेपछि माछापालक मल्लले प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी सत्तीका इञ्चार्ज दौलत पुजारा, प्रहरी हवल्दार रामचरण चौधरी, डल्फिन संरक्षण समितिका अध्यक्ष भोजराज ढुङ्गाना, स्थानीय संरक्षणकर्मी रामकृष्ण चौधरी, धनीराम रेग्मीलगायतले गोहीको उद्धार गरेका थिए ।

पथरैया नदीबाट माछा पोखरी एक किलोमिटरको दूरीमा पर्छ । डल्फिन संरक्षण समितिका अध्यक्ष ढुङ्गानाका अनुसार भाले जातको गोही डेढ मिटर लामो र १५ किलो तौलको थियो ।