अन्तर्राष्ट्रिय

दक्षिणको वार्ता प्रस्ताव लत्याउँदै उत्तरले गर्यो छैठौं पटक क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले फेरी क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तरले छैठौं पटक आज बिहानै फेरी दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।

उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट समुद्र तर्फ दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले सेनाले जनाएको छ । पछिल्लो एक महिनामा उत्तर कोरियाले गरेको यो छैटौँ मिसाइल प्रक्षेपण हो । उत्तरले ६ दिनअघि मात्रै छोटो दूरीमा मार हान्न सक्ने दुईवटा ब्यालेस्टिक मिसाइल सी अफ जापानतर्फ प्रहार गरेको थियो ।

यस्तै उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता प्रस्तावलाई ईन्कार गरेको छ । दक्षिण कोरियाकै गतिविधिकै कारण ऊसँग वार्ताको सम्भावना नरहेको उत्तर कोरियाले स्पष्ट पारेको छ । दक्षिण कोरियाको पछिल्ला गतिविधिले वार्ताको वातावरण पूर्णरुपमा नष्ट गरेको उत्तर कोरियाको आरोप छ ।

दक्षिण कोरिया र अमेरिकाले हाल संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । जसबाट उत्तर कोरिया रुष्ट बनेको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको यस्तो गतिविधिले वार्ताको वातावरण बिगारेको बताएको छ ।