प्रदेश 1

१२ किलो गाँजासहित तीन जना व्यक्ति पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवर छन् । दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका छन् ।

तीनै जनाले पाँचथरबाट गाँजा खरीद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेको खुलेको छ । प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार तीनै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।