खेलकुद

नेपालले अफगानिस्तानलाई फेरी पछार्योः दोस्रो खेलमा पनि जित

काठमाडौं । पाहुना टोली अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपूर्ण भलिबलमा नेपालले शानदार जित निकालेको छ । बिहिबार भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गर्यो ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा कप्तान ईम राना बिना मैदान उत्रिएको नेपालले अफगानिस्तानमाथि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । पहिलो मैत्रीपूर्ण खेलमा मांसपेशीको चोट बोकेपछि कप्तान ईमले दोस्रो खेल गुमाएका थिए ।

तर, धनबहादुर भट्टको कप्तानीमा कोर्ट उत्रिएको नेपालले सुरुवाती दुई सेट गुमाएपनि जित निकाल्न सफल भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २५(२२ र दोस्रो सेट २५(१५ ले गुमाएको थियो । तर, नेपालले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्यो । नेपालले तेस्रो सेट २६–२४ र चौंथो सेट २६–२४ ले जित्दै खेल २(२ को बराबरीमा ल्याएको थियो ।

त्यसपछि अन्तिम सेटमा नेपालले १५–१२ को सेटमा जित निकाल्दै अफगानिस्तानलाई निराश बनाउन सफल भयो ।
यो जितसँगै नेपालले अफगानिस्तानविरुद्धको दुई मैत्रीपूर्ण खेलनै आफ्नो पक्षमा बनाएको छ । यसअघि बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई ३–२ कै सेटमा हराएको थियो । नेपालले पहिलो खेलमा २२–२५, २५–२३, २५–१७, २५–२१ र १५–१३ को सेटमा जित निकालेको थियो ।

घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो । एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।