आर्थिक

एकैदिनमा तोलाको १२ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज एकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार छापावाला सुन रु ७० हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रु ७१ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार २०० ले नै बढेको छ ।

तेजाबी सुन आज प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो । यो सुनको मूल्य अहिलेसम्मको उच्च हो ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएर रु ८४० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

चीन–अमेरिका व्यापार टकराव तथा अमेरिका–इरानबीच देखिएको विवादका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको बताइएको छ ।