समाचार

ब्रह्माकुमारी सेवा केन्द्रद्वारा राष्ट्रप्रमुख भण्डारी र प्रधानमन्त्री ओलीलाई राखी

काठमाडौँ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले रक्षाबन्धनका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले रक्षाबन्धनका अवसरमा सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरिन् । त्यस्तै प्रधानमन्त्री ओलीले विश्व शान्तिको आवश्यकतामा जोड दिँदै समाजमा व्यप्त घृणा, हिंसाजस्ता अनिष्ट समाप्त गर्ने केन्द्रको भूमिकाको प्रशंसा गरे ।

केन्द्रले सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल र उपेन्द्र यादव, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, कानून न्याय तथा, संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा युवराज खतिवडा, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री एवं सुरक्षा अधिकारीलाई राखी लगाइदिएको छ ।