आर्थिक

लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा १३ प्रतिशतले कमी

नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५।७६ मा कूल रु १२ करोड ९६ लाख २४ हजार ५१९ बराबरको राजश्व सङ्कलन गरेको छ ।

सो आर्थिक वर्षमा करीब १५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्यको तुलनामा १३ दशमलव ५८ प्रतिशतले कमी हो । कर्मचारी अभाव तथा भौतिक पूर्वाधार र अन्य समस्याका कारण लक्ष्यभन्दा केही कम राजश्व सङ्कलन भएको महेशपुर भन्सार कार्यालयले जनाएको छ ।

यो जिल्ला खुला सिमाना भएका कारण सीमावर्ती क्षेत्रमा व्यापक चोरी तस्करी हुने हुनाले पनि भन्सारको राजश्व लक्ष्यभन्दा कम सङ्कलन भएको कार्यालयले जनाएको छ । मूल भन्सारमा परिणत भएको एक वर्ष बितिसक्दा पनि यसको विस्तारका लागि आवश्यक धैरे काम गर्न बाँकी नै छ । भन्सार कार्यालयलाई पूर्णरूपमा कार्यान्वयमा ल्याउनका लागि आवश्यक जग्गा अधिग्रहण, सडक, ठूला गोदाम, जाँचकी भवन, कर्मचारी बस्ने भवनजस्ता महत्वपूर्ण भौतिक पूर्वाधारको विकास हुन बाँकी देखिन्छ ।

कोलकता बन्दरगाह नाकाबाट सबैभन्दा छोटो दूरीमा पश्चिम नवलपरासीको महेशपुर नाका मानिन्छ । नेपाल र भारत दुवैतर्फ नेपाल र भारत दुवैतर्फ आवश्यकताअनुसार सडक सञ्जाल र दुवै भन्सार कार्यालयको उचित ब्यवस्थापन हुन सके यस भन्सार कार्यालयले पनि लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सक्ने अवस्था देखिन्छ ।